प्रदर्शनको क्रममा रहेको फिल्म झोले युनिटले दार्चुलाका बाढी प्रभावितलाई आर्थिक सहयोग जुटाएका छन् । निर्देशक दिपेन्द्र के. खनाल नेतृत्वको टोलीले ११ हजार रुपैयाँ बाढी प्रभावितलाई लागी सहयोग गरेको छ ।
झोले युनिटको एघार हजार र अश्लेसा इन्टरनेटमेटको ५ हजार नगद रुपैयाँ एभी न्यूजको राहत संकलन कार्यक्रममा हस्तान्तरण गरिने निर्देशक खनालले जानकारी दिए । राहत बारे उनले भने- 'फिल्मको पब्लिसिटी भन्दा विपतमा परेकालाई नेपाली हुनुको नाताले सहयोग रकम जुटाएका हौं । बाढी प्रभावितको लागी हामी अन्य क्लब तथा साथीबाट पनि सहयोग जुटाउने छौं ।'

निर्माता टेकेन खड्काले भने बाढी प्रभावितलाई सहयोग गर्नु आफ्नो दायित्व हुन आएको बताए । घर कैलाली भएका निर्माता खड्काले भने- 'एउटै क्षेत्र परेकाले पनि सहयोग गर्नु आवश्यक छ ।' त्यस्तै नायिका प्रियंका कार्कीले दु:खमा परेकालाई सक्दो सहयोग गर्नु मानविय दायित्व हुन आउने धारणा राखिन् । तपाई एउटाको सहयोगले के फाईदा हुन्छ ? भन्ने प्रश्नमा आवरण फिल्मको सुटिङमा जान हतारिएकी प्रियंकाले भनिन्- 'के फाइदा हुन्छ भन्दा पनि के हुँदैन भन्ने महत्वपूर्ण कुरा हो ।'

'हामी सबैले के हुन्छ ? भनी हात बाँधेर बस्यौं भने सहयोग जुट्ने त सम्भव नै छैन ?,' प्रियंकाले भनिन्- 'आफुसँग जे जति छ सहयोग गर्नुपर्छ ।' सिनेम्याटोग्राफर पुरुषोत्तम प्रधान भन्छन्- 'वासस्थान गुमाएकालाई सक्दो सहयोग गर्रौ ।' विशालनगर स्थित अश्लेषा इन्टरटेनमेन्टको कार्यालयमा कलाकार दयाह्याङ राई सहितको टिम राहत सङ्कलनमा उपस्थित थियो ।

