उपचारका लागि जापान पुगेका राष्ट्रपति रामवरण यादव नेपाल फर्के लग्गतै राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरिने चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता 'पप्पु'ले जानकारी गराएका छन् ।
पुरस्कारको अन्तिम तयारी भैरहेको जानकारी दिदै अध्यक्ष मोरवैताले भने- 'राष्ट्रपतिले भनेको मितिमा विकास वोर्ड अवार्ड आयोजना गर्न तयार छ ।' धरान महोत्सव पछिको घटनाक्रमलाई लिएर राष्ट्रपति अवार्डमा सहभागी हुन अस्विकार गरेको भन्ने कुराको खण्डन गर्दै मोरवैता भन्छन्- 'हामी राष्ट्रपति ज्यूसँग अन्तिम समयसम्म पनि सम्पर्कमा थियौं । स्वास्थ्य ठिक भएको खण्डमा अवार्ड तोकिएकै मितिमा हुन सक्थ्यो । उहाँको स्वास्थ्य ठिक नभएपछि अवार्ड रोकिएको हो ।'
०६७, ०६८ र ०६९ वर्ष सम्म प्रदर्शनमा आएका फिल्मलाई अवार्डमा सहभागी गराइनेछ । जसमा ०६७ सालका १६ फिल्म, ०६८ सालका २४ फिल्म र ०६९ सालका ३९ फिल्म प्रतिष्पर्धामा छन् । यि तीनै बर्षका फिल्महरूलाई छुट्टाछुट्टै रूपमा अवार्ड वितरण गरिने छ । दश दिन भित्र सञ्चार मञ्त्रालयमा नाम पठाउने गरी जुरी सदस्यले अहिले विकास वोर्डमा फिल्म हेरिरहेका छन् । जुरी सदस्यमा सञ्चारकर्मी प्रकाश सुवेदी र शान्तिप्रिय सहित निर्देशक शैलेश आचार्य र विकास बोर्डका सल्लाहकार तपनाथ शुक्ला रहेका छन् ।
चलचित्र विकास बोर्डको बार्षिकोत्सवको अवसर पारेर असार १६ गते अवार्ड वितरण गर्ने भनिएको थियो जुन राष्ट्रपति अस्वस्थ हुँदा अनिश्चित समयका लागि सरेको छ ।

