वर्ष ०६९ मा पाँच फिल्मले मात्रै मुस्किलले आफ्नो लगानी रिकभर गर्न सफल भए । फ्रेस प्रदर्शनमा आएका करिब एक सय फिल्मले आफ्नो लगानी डुबाए । प्रचार र प्रतिक्षामा रहेका फिल्म समेत डुब्नुमा रिलिजको अस्वस्थ प्रतिस्पर्धा नै प्रमुख कारक रहेको फिल्म विश्लेषकको निष्कर्श रह्यो ।
वर्ष ७० को असार दोस्रो हप्ता सम्म प्रदर्शनमा आएका फिल्मले पनि उत्साहको व्यापार गर्न सकेका छैनन् । प्रचारमा रहेका फिल्मले व्यावसायिक सफलता हात नपर्नुमा कथा र प्रस्तुती झुर मानिए पनि हलमा फिल्म जुध्नुले पनि निर्मातालाई 'हात लाग्यो शून्य' भयो । अहिले हलमा कम्तीमा २ वा ३ फिल्मले रिलिजको अवसर पाइरहेका छन् । यसको निरन्तरता ०७० सँगै आगामी वर्ष पनि जारी रहने बलियो सम्भावना छ । अर्थात दर्शक नआएपनि हलमा प्रत्येक हलमा फिल्मको वर्षा भैरहनेछ । यसको आधार अहिले फ्लोरमा रहेका फिल्मको संख्याले बलियो बनाइदिएका हुन् ।
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार देश तथा विदेशमा गरी डेढ दर्जन फिल्म सुटिङ गर्नमा व्यस्त छन् । यो संख्यामा इएक्स थ्री क्यामेराले खिचिएका, लघु र स्थानिय फिल्मलाई जोडिएको छैन । गत वर्षमा भन्दा यो समर सिजनमा फिल्मको खिच्नेको संख्या दोब्बर रहेको जानकारी दिदै प्राविधिक संघका अध्यक्ष मनोज केसी भन्छन्- 'फ्लोरका फिल्मलाई प्राविधिकलाई खुसी बनाएपनि निर्माता, प्रदर्शक र वितरकको लागी भने यो सोचनिय विषय हो ।'
'रिलिज बारे सम्बन्धित निकायले समयमै व्यवस्थापन गर्नुपर्छ,' केसी थप्छन् । एउटा फिल्ममा कम्तीमा ४५ जनाको जनशक्ति प्लस गर्दा ६ सय भन्दा बढी जनशक्ति फिल्म खिच्न व्यस्त छ । त्यस्तै एउटा फिल्मको लगानी ४५ लाख आँकलन गर्दा ६ करोड भन्दा माथिको रकम फिल्म बजारमा लगानी भैरहको छ । अहिले फ्लोरमा रहेका फिल्महरूमा काली, कवड्डी, आवरण, मधुमास, नो स्मोकिङ, भिमदत्त, राहदानी, कार्तिक, मिस नेपाल, सारङ्क, सिसा, सकसलगायत रहेका छन् । यस्तै इजरायल र सिक्किममा पनि नेपाली फिल्मको सुट भैरहेको प्राविधिक संघका अध्यक्ष केसीले जानकारी गराएका छन् ।

अगामी दिनमा फिल्म रिलिजको व्यवस्थापन बारे चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई भन्छन्- 'डेढ महिना भित्र आउने अध्यादेशले फिल्म क्षेत्रको करिब पचास प्रतिशत समस्यलाई हल गर्नेछ । साथमा हल तथा फिल्म वर्गीकरण र हप्तामा दुई वटा मात्रै फिल्म रिलिजको प्रणालीले बाँकी समस्यलाई सुल्झाउनेछ ।' फिल्म तथा हल वर्गीकरणको लागी चलचित्र विकास वोर्ड र हप्तामा दुई वटा मात्रै फिल्म रिलिज प्रणालीको लागी चलचित्र संघसँग गम्भीर रुपमा छलफल भैरहेको समेत अध्यक्ष राईले जानकारी गराए ।
सम्भवतः दुई महिना भित्र हल तथा फिल्म वर्गीकरण, बक्स अफिसको नीति र हप्तामा दुई वटा मात्रै फिल्म रिलिजको प्रणाली कार्यन्वयनमा आउनेछ । अहिले स्तरिय फिल्म निर्माणमा जोड र व्यवस्थित फिल्म रिलिजलाई यी नीति तथा कार्यक्रमले सम्बोधन गर्नेछन् । प्रदर्शनको पालो पर्खेर बसेका, फ्लोरमा रहेका र निर्माणको घोषणामा रहेका फिल्मको संख्या हेर्दा लाग्छ यो वर्ष हलमा फिल्मको महाकुम्भ लाग्छ । तिथि र मिति बिनाको मेलामा कुन चाहि निर्माता, निर्देशकको जुन फिल्मले आफुलाई अब्बल देखाउँछ त्यही नै हुनेछ खेलको अस्ली खेलाडी ।

