थ्री लभर्सबाट पार्श्व संगीतकारको रूपमा फिल्म क्षेत्रमा प्रवेश गरेका राजन इशानले भाद्र पहिलो साताबाट सुटिङका लागि फ्लोरमा जान लागेको फिल्म 'अधकट्टी'मा संगीत भर्ने भएका छन् ।
यसै साताबाट रेकर्डिङ शुरू हुन लागेको फिल्मका ४ गीतमा राजनकै संगीत रहने अधकट्टीका निर्देशक सुब्रत आचार्यले जानकारी गराए । थ्री लभर्स पछि सेफ ल्याण्डिङ फिल्ममा सोलो म्युजिक दिएका राजनको काम निकै राम्रो लागेर संगीतकारमा एग्रिमेन्ट गरेको सुब्रत बताउँछन् । राजनले संगीत दिएको थ्री लभर्सको गीत निकै चलेको थियो भने सेफ ल्याण्डिङको संगीत बजारमा आईसकेको छैन ।
गीतकार, गायक, एरेञ्जर सहितको परिचय बोकेका राजन प्रदर्शनरत फिल्म कर्कशबाट कलाकारको रूपमा समेत चिनिएका छन् । कर्कशमा भ्रष्ट प्रहरीको भुमिका निर्वाह गरेका राजनले आफू भित्र भएका कला देखाउन पाउँदा खुसी व्यक्त गरे । संगीतको क्षेत्रमा राम्रै प्रशंशा पाएको थिएँ अब कलाकारको रूपमा पनि सबैले मन पराईदिनु भएको छ,' राजनले भने । अधकट्टीको संगीत सिर्जनामा व्यस्त राजन छायाँकन भईरहेको सुवास कोईराला निर्देशित फिल्म 'आवरण'मा पनि अभिनय गरिरहेका छन् ।
प्रदीप कुमार उदयले निर्माण गर्न लागेको अधकट्टीमा समावेश ४ गीतको टेस्ट फरक-फरक रहने राजनले बताए । 'सबै वर्गका दर्शक स्रोतालाई केन्द्रित गरेर मेलोडी, डान्सिङ नम्बर, थीम सङ र र्याप मिसिएको रक गीत तयार पारेको छु,' राजनले सुनाए । अधकट्टीका चार गीत मध्ये तीन वटामा रञ्जित आचार्यको शब्द रहेको छ भने एउटामा बिजय अधिकारीको शब्द रहेको छ । स्वर दिने कलाकार भने फिक्स भईनसकेको राजनले बताए ।
साप्ताहिकका सम्पादक सुवास ढकालको कथा तथा विजय अधिकारीको पटकथा तथा संवाद रहेको अधकट्टी पूर्ण रूपमा हाँस्य प्रधान रहने बताईएको छ । गौरव पहारी र विल्सन विक्रम राई बाहेक अन्य कलाकारको टुंगो नलागेको यो फिल्मको सुटिङ काठमाण्डौ र चितवनमा गरिने निर्देशक आचार्यले बताए । रङ्ग पत्रकार सुब्रत सुव्रत आचार्यको यो डेब्यू निर्देशन हुनेछ ।

