Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

पर्दामा चलेनन् संगीतको कथा

फिल्मीखबर, काठमाण्डौ, 2013/06/21

छिमेकी मुलुक भारतमा निर्मित म्युजिकल कथा बोकेको फिल्म 'आशिकी २' रिलिजको दोस्रो हप्तामै एक सय करोडको व्यापार गर्न सफल भयो । बलिउडको अर्को म्युजिकल फिल्म रणवीर कपुर केन्द्रित रकस्टार पनि उत्तिकै हिट बन्यो । तर, भारतीय फिल्मको नक्कल गर्ने थलो भनेर आरोप खेप्ने गरेको नेपाली फिल्म बजारमा भने संगीतको कथा बोकेका फिल्मले आशा कम र निराश बढी बनाएको पाइएको छ ।


आधुनिक गायनको यात्रा सडकबाट प्रारम्भ गरेका रामकृष्ण ढकालको साँगीतिक जीवन बारेको फिल्म आशिर्वाद ठिकै चल्यो । तर रामकृष्ण जसरी आधुनिक गीतमा चले फिल्म भने त्यसरी चल्न सकेन । संगीतकै कथा बोकेको फिल्म 'पर्खिबसें'ले देशका केही हलमा ५१ दिन मनाउन सफल भयो । दिपक श्रेष्ठ निर्देशित फिल्ममा राजवल्लभ कोईराला र युना उप्रेतीले मुख्य भुमिका प्ले गरेका थिए ।

 

पोखरेली नायक कोईराला अर्को साँगीतिक फिल्म 'स्वर' भने व्यापारिक सोचे अनुरुपमा चल्न सकेन । प्रशन्न पौडेले निर्देशित फिल्म स्वर समिक्षात्मक तथा व्यापारीक दुवै रुपमा असफल हुन पुग्यो । केकी अधिकारी, रिमा विश्वकर्मा, वेनिशा हमाल स्वरबाटै डेव्यु भएका हुन् ।

 

 

स्वर पछि भक्तराज आचार्यको साँगीतिक जीवन माथि 'आचार्य' फिल्मको निर्माण भयो । जिब्रोको क्यान्सरले गर्दा भक्तराज अहिले स्वर निकाल्न असमर्थ छन् । भक्तराजकै जेठा छोरा सत्यराज आचार्यले मुख्य भुमिका निर्वाह गरेको 'आचार्य'लाई दर्शकले साथ दिएनन् । समिक्षत्मक रुपमा आचार्य राम्रो मानिएपनि व्यापारिक रुपमा भने पूर्ण रुपमा असफल सावित भयो । आचार्यलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । म्युजिकल फिल्मको बजार नदेखेर नै होला निर्देशक रसाईलीले दोस्रो प्रोजेक्ट लभ स्टोरी वेस फिल्म 'कथा'को निर्माण तथा निर्देशन गरे । विडम्वना सौगात मल्ल र उषा रजकको प्रेमका कथा बोकेको 'कथा' व्यापारिक रुपमा असफल भयो ।

 


त्यस्तै भिडियो निर्देशक आशिफ शाहले पनि म्युजिकल ब्यान्डकै स्टोरी वरीपरी रहेर फिल्म 'कर्कश'को निर्देशन गरे । निर्देशकका आफ्नै भाइ अशिम शाहको लगानी रहेको कर्कश पनि दर्शकको मनमा बस्नबाट चुक्यो । यो फिल्मले करिब ४५ लाखको लगानी रिकभर गर्ने पक्का त गर्यो तर, म्युजिकल फिल्म चल्छन् भन्ने कुरा भने पक्का गर्न सकेन । कारण, हाइप भए अनुसार कर्कशको टिकेट हलमा सेल भएन । दर्शक पनि फिल्म हेरेर खासै प्रफुल्लित देखिएनन् ।

 

 

म्युजिकल फिल्डकै प्रवीन श्रेष्ठले अर्को म्युजिकल फिल्म मोक्ष निर्देशन गरेका छन् । सुनिल मानन्धरको लगानी रहेको मोक्ष हाल पोष्टमा छ । वेनिशा हमाल सहित अन्य नयाँ अनुहारहरूको भिड रहेको मोक्षले भने कस्तो व्यापार गर्ने हो पर्खाईको बिषय बनेको छ । आशा गरौं मोक्षले साँगीतिक फिल्मको सफलताका लागि इतिहासमा नाम लेखाउने छ ।
 

 

यि बाहेक म्युजिकल विषयवस्तु बोकेका थुप्रै फिल्म निर्माण भएर हलमा आए । तर कुन फिल्म कहिले आए कहिले गए दर्शकलाई पत्तै भएन । सम्भवतः म्युजिकल फिल्मको असफलताले निर्मातालाई संगीत क्षेत्रको कथा भन्ने फिल्ममा लगानी गर्न उत्साह जगाउने छैन । पछिल्लो समय पाइरेसीले चौपट भैरहेको संगीत क्षेत्र पर्दामा पनि असफल हुनुले संगीत सर्जकलाई चिन्तन र सोचमा पारिदिएको छ ।