चर्चा र आशा गरिएका फिल्म असफल हुने क्रम बढ्दो छ । ठुलै आशा गरिएका फिल्म प्रदर्शन पछि भने लगानी रिकभरको लागी ओभरसिज मार्केट खोज्ने दौडधुपमा छन् । नेपालमा असफलको स्वाद चाखेर गएका ती नेपाली फिल्मले विदेशी मार्केट समेत विगारेको गुनासो सुन्नमा आएको छ । जे होस् नेपाली फिल्म क्षेत्र अहिले विशम् परिस्थितबाट गुज्रिरहेको छ । यही क्षेत्रलाई कर्म थलो बनाउनेको वर्तमान फिल्मी बजारको अवस्था पिडादायक छ ।
देश जस्तै फिल्मी बजार पनि अहिले परिक्षण कालमा छ । हिड्ने बाटोमै रुमल्ली रहेको यस क्षेत्रमा थुप्रैले थुप्रै किसिमको परिक्षा गर्दैछन् । परिक्षण केवल परिक्षणमै सिमित छ सफलता हात परेको छैन । परिक्षणको अवस्थालाई विभिन्न व्यक्तिले आफ्नै कोणबाट विश्लेषण गर्दैछन् । ८ वर्षदेखी फिल्म लाइनमा स्टार बन्न संघर्षरत कलाकार निरज बरालले वर्तमान फिल्मी बजार बारे आफ्ना भनाई सार्वजनिक गरेका छन् ।
भदौ १४मा लभ फरेभर रिलिजको पर्खाइमा रहेका यी नायकले ब्याक टु ब्याक फिल्म असफल हुँदै जानुमा फिल्मकर्मीको काम भन्दा गफ दिने शैली प्रमुख कारण रहेको बताए । फिल्मीखबरसँगको गफमा लभ फरेभरका खलपात्रले भने- 'जो पनि कलाकार, निर्माता र निर्देशक हुने प्रवृत्तीले दर्शक झुक्किदै गएका छन् । नयाँ र फरक गर्छु भन्नेले नै फिल्मलाई बिगारेको पाइयो ।'
एमबीए अन्तिम वर्षको परिक्षा तयारी गरिरहेका निरजले थपे- 'अनुप बराल, सौगात मल्ल, दयाह्याङ राई जस्ता कलाकारलाई फिल्मी क्षेत्रले स्वागत गर्न पाउनु गर्वको कुरो हो, तर दुई महिनाको एक्टिङ कोर्स गरेर म थिएटर एक्टर हुँ भन्दै गफ दिनेको संख्या बढ्दै गएको छ । गफले कुनै काम गरेको छैन ।' असारको अन्तिम साता नयाँ प्रोजेक्टको लोकेशन हन्टका लागी थाइल्यान्ड उड्न लागेका निरज फिल्म बजारलाई सुधार गर्नुपर्ने पक्ष बारे भन्छन्- फिल्म सम्बद्ध संस्था पनि बजार सुदृढीकरणको लागी लाग्नु पर्छ । सबैभन्दा पहिले फिल्म तथा हलको वर्गीकरण हुन जरुरी छ ।'

