अत्याधिक वर्षा असारे खेतीको लागी पनि हानिकारक हुन्छ । तर, फिल्मकर्मी भने जुर्मुराएर वर्षामा फिल्म खिच्न व्यस्त छन् । वर्षाले सुटिङ पोस्टपोन्ड हुँदा लगानी प्लस हुने पक्का छ । फिल्मको बजेट बढाउन फिल्मकर्मी जम्बो टोली लिएर किन फ्लोरमा निस्कन्छन् ? उनीहरुको यो बाध्यता हो या रहर ? हामीले फ्लोरमा रहेका केही फिल्मका मेम्वर्ससँग बुझ्ने कोशिस गरेका छौ :-
'पानीले गर्दा फिल्मको खर्च सम्भावना बढी छ,' यसै साता मधुमास खिच्न फ्लोरमा निस्किएका मधुमासका निर्माता बाबुराम दाहालले गुनासो पोखे- 'बर्षा यामपछि कलाकारको समय नमिल्ने भएपछि खिच्न निस्किएका हौं । आउट डोर सुटिङ तालिका मिलाउन गाह्रो भैरहेको छ ।'
निर्देशक सुदर्शन थापा चौधो प्रोजेक्ट मधुमास आर्यन सिग्देल, पूर्जा शर्मा र सिवाङ्गिनी राणाले टेक दिईरहेका छन् । निर्देशक थापाको समेत लगानी रहने यो फिल्म लभ फ्लेवरको हुनेछ । तर काली रेखा थापालाई भने मौसमले साथ दिएको छ रे ! विरगञ्जबाटै कालीको सुटिङ सेटबाट रेखा भन्छिन्- 'हरीयाली खिच्न यो मौसम रोजेको हो । वर्षाले गर्दा सुटिङ रोक्नु परेको छैन । मलाई भगवानको साथ छ ।'
दुई साता विरगञ्जको सुट पश्चात काली युनिट आइतबार काठमाण्डौ व्याक हुँदैछ । शविर श्रेष्ठले निर्देशन गरिरहेको कालीमा किशोर खतिवडा रेखाको अपोजिटमा प्रस्तुत भएका छन् । काठमाडौको एक हप्ता सुटपछि काली पोष्टमा जानेछ । कालीलाई दशै वा तिहारमा रिलिज गरिने रेखाले बताएकी छिन् ।

आवरणको सुटिङमा व्यस्त प्रियंका कार्कीलाई पनि वर्षाले फिल्म रोकिन्छ कि भन्ने डर छ । ज्वरो कम गर्न सिटामोल खांदै टेक दिइरहेकी प्रियंका भन्छिन्- 'हरेक दिन पानी नपरोस् भनेर प्रार्थना गर्छु । अहिलेसम्म त्यस्तो भएको छैन । हामी कामप्रती डेडिकेट छौं ।' अपवाद पछि सुवास कोइरालाको आवरण दोस्रो प्रोजेक्ट हो । यो फिल्मको अहिले चोभारमा इनडोर सुटिङ भईरहेको छ ।
पानी अत्याधिक पर्ने समयमा 'छ एकान छ'को सुटिङ हुँदैछ । असार १४ गतेबाट सुटिङ शुरू हुने यो फिल्म युनिटले पनि बर्षा यामलाई च्यालेञ्ज गरेको छ । निर्माता निर्मल शर्मा पानी पर्ने समयमा इनडोर सुटिङ गर्ने बताउँछन् । यस्तै पानीको पर्वाह नगरी सुमन दाहालले पनि 'नो स्मोकिङ'को सुटिङ शुरू गरेका छन् । अधिकांश काठमान्डौमा नै सुटिङ हुने यो फिल्मलाई पनि असारे झरीले पक्कै असर पार्नेछ ।
बर्षा याम फिल्म खिच्न र हलमा चलाउन त्यती उपयुक्त मानिदैन् । यद्ध्पी यही सिजनमा झण्डै एक दर्जन फिल्म फ्लोरमा रहेको चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी जानकारी दिन्छन् । वर्षाका बावजुद पनि हलमा दुई भन्दा बढी फिल्म रिलिज हुने क्रम भने जारी छ ।

