दुःखद खबर ! भारतको उत्तरा खण्ड राज्यमा गएको बाढीपहिरोमा निर्माता सुनिल कुमार थापाकी माता तारा थापा पनि हराएकी छिन् । निर्माता थापाका अनुसार ५८ वर्षिय आमा चौध जनाको टोलीसँगै चारधामस्थित केदारनाथ मन्दिरको दर्शन गर्न निस्किएकी थिइन् ।

'बिहिबार रातीसम्म आमासँग फोनमा सम्पर्क भएको थियो । बाढी आएको दिन आइतबारदेखी उहाँसँग सम्पर्क हुन सकेको छैन', आमा सम्पर्क विहिन भएको सुचना दिंदै सुनिलले भने- 'आमा चढ्नु भएको गाडीको ड्राइभरसँग सम्पर्क गर्दा बाढीले गाडी र उहाँहरु बस्नु भएको होटल बगायो भन्ने खबर छ ।' भारत स्थित नेपाली दुतावासमा आमाको नाम टिपाएका थापाले भावुक हुँदै भने- 'भारतमा रहनुभएका सबै आफन्तलाई पनि आमा हराउनु भएको बारे खबर छोडेका छौं ।'

भोली शुक्रबार सुनिलका भाई प्रणील थापा सहितको टोली खोजी कार्यको लागी त्यस तर्फ जाँदैछन् । 'आमा सकुशल घर आईपुग्नु हुन्छ भन्ने आश छ,' सुनिलले भने । निर्माता थापाकी पत्नी तथा अभिनेत्री झरना थापाले सासु आमा हराएको खबर सुन्दा निकै दु:ख लागेको बताइन् । 'मेरो आमा मात्र हैन थुप्रै आमाबुवा हराउनु भएको छ । त्यसैले उहाँहरूलाई केहि नहोस्', झरनाले भगवानसँग प्राथना गरिन् ।
लगातारको वर्षापछि आएको बाढीमा केदारनाथ दर्शनको लागी गएका करिब चार सय नेपाली सम्पर्क विहिन तथा सत्तरीको मृत्यु भएको बताइन्छ । हराइरहेकाको खोजी कार्य भइरहेको छ ।

