कविता श्रेष्ठको ढुवानी रिलिज हुने भदौ २८मा फिल्म राजनीतिले पनि प्रदर्शनको मिति तोकेको छ । चेलीवेटी बेचबिखनको कथामा बनेको ढुवानी र देशको वर्तमान राजनीतिक घटनाक्रमलाई मुख्य विषय बनाइएको राजनीतिको लक्षित दर्शक भिन्न रहेकाले फिल्म जुधेपनि व्यापारिक घाटा नुहने सम्बन्धित पक्षको भनाई छ ।
.jpg)
निर्माता कविता श्रेष्ठ फिल्म जुध्ने बारे भन्छिन्- 'सोलो रिलिजको सम्भावना न्यून छ । सम्भवतः भदौसम्म एक सातामा दुई भन्दा बढी फिल्म रिलिज हुने छैनन् । मल्टीप्लेक्समा राजनीतिसँग हाम्रो पर्दा विभाजन हुन सक्ने सम्भावना छ ।' उज्जवल पौडेलको बजार व्यवस्थापन रहने ढुवानीलाई काठमाण्डौ र मोफसलमा करिब ६० पर्दा उपलब्ध हुने निर्मात्री श्रेष्ठ बताउँछिन् । पिताम्वर पाण्डे निर्देशित फिल्म ढुवानीमा किशोर खतिवडा, प्रबिन खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायत मुख्य रोलमा प्रस्तुत भएका छन् ।
राजनीतिका निर्देशक बसन्त निर्रौला पनि आफ्नो फिल्मले ६० भन्दा बढी नै हल पाउने दाबी गर्छन् । राजेश हमाल, कोमल वली, दीपक कुमार भट्टराई, दीपक सुवेदी र पवित्रा आचार्यको मुख्य भुमिका रहेको यो फिल्मलाई निर्देशक निर्रौलाले नै अल नेपाल वितरणको जिम्मा लिएका छन् । फिल्मलाई दिपक सुवेदी र दिपक भट्टराईले निर्माण गरेका हुन् ।

हप्तामा दुई मात्रै फिल्म रिलिज गराउन निर्माता संघ अहिले चलचित्र संघसँगको आन्तरिक छलफलमा व्यस्त छ । हप्तामा दुई मात्रै फिल्म रिलिज प्रणालीप्रती चलचित्र संघ सहमतमा आए सम्भवतः साउन १ गतेबाट निर्माताले केही राहतको महसुश गर्नेछन् । जे होस्, यो प्रणाली लागु भएमा निर्माता र वितरक बिच चलिरहेको अस्वस्थ खेलले केही हदसम्म व्रेक पाउने आशा गर्न सकिन्छ । वर्षौ देखी चलिआएको क्यु प्रणाली गत हप्ताबाट रोकिए पनि निर्माताले आफ्नो फिल्मको रिलिज मिति तोक्ने क्रम भने रोकिएको छैन ।

