सरकारले कार्यान्वयनमा ल्याउन लागेको बक्स अफिस प्रणाली अन्र्तगतको समिति सदस्य हुन् आकाश अधिकारी । मुम्बईमा अभिनय तथा फिल्म निर्देशनमा चार वर्षे डिप्लोमा कोर्स पूरा गरेपछि आकाशले रणभुमी नामक फिल्मको निर्देशन गरे । काठमान्डू, क्रोध, पंक्षी जस्ता फिल्म निर्माण तथा निर्देशन पश्चात पछिल्लो समय कोहिनुर नामाकरण गरेर फिल्म निर्देशनमा जुटेका आकाश वर्तमान फिल्मी बजार प्रती निराश भन्दा पनि आशावादी रहेको तर्क गर्छन् । फिल्मीखबरसँगको जम्का भेटमा निर्देशक, निर्माता तथा अभिनेता अधिकारीले वर्तमान अवस्थामा फिल्म असफल हुदै जानुको कारण बारे मुख खोलेका छन् ।
१.देशको राजनितिक अस्थिरताले दर्शक बिभिन्न किसिमले आ-आफ्नै संघर्षमा व्यस्त छन् । अहिलेको परिस्थितिमा मान्छेलाई 'कसरी बाँच्ने ?' भन्ने कुरा पहिलो प्राथमिकतामा छ । जब मानिसमा सम्पन्नता र सन्तुष्टी हुन्छ तब उस्ले मनोरञ्जनको साधन खोज्न थाल्छ । जहाँ मुल बोट नै अस्वस्थ छ भने हाँगा कसरी मौलाउन सक्छ ? देशको राजनितिक वातावरणले एक खालको ल्यान्ड लिएपछि सम्भवतः फिल्म बजार फस्टाउन सक्छ ।
२.फिल्मी क्षेत्रमा वौद्धिक वर्गको अभाव छ । यहाँ परेर र पढेर आएका दुवै छन् । परेर आएका वर्तमान विश्व फिल्मी बजार बारे अध्ययन र अनुसन्धान गर्न चुकेका छन् भने पढेर आएका पनि लगनशिल हुन सकेका छैनन् र चिप्लिरहेका छन् । यो क्षेत्रमा लामो समय बिताएकाले वर्तमान विश्व फिल्मी बजारलाई अध्ययन गर्ने र किताबी ज्ञान भएकाले ढङ्ग पुर्याएर काम गर्ने हो भने नेपाली फिल्मी बजारको भविष्य उज्जवल छ ।
३. विदेशी फिल्मको प्रभाव नै नेपाली फिल्मी बजारको लागी मुख्य चुनौती हो । यहाँ नेपाली भन्दा पनि विदेशी फिल्मलाई बढी प्राथामिकता दिइन्छ । त्यसकरण दर्शक पनि नेपाली फिल्ममा विदेशी स्वाद खोज्न थालेका छन् । नेपाल र अमेरिका हरेक कुरामा फरक छ । दर्शकले कथा चित्त बुझेन भन्न पाइन्छ तर हलिउड फिल्ममा यो थियो नेपाली फिल्ममा त्यो रहेनछ भनेर तुलना गर्न मिल्दैन । किनभने हामी आर्थिक सँगै फिल्ममा प्रयोग गर्ने साधन स्रोतमा पनि हलिउड तथा बलिउड भन्दा धेरै पछाडी छौं । उनीहरुको दाँजोमा पुग्न हामीलाई अझै धेरै वर्ष लाग्न सक्छ ।
४. नेपालमा फिल्म निर्माण देखी प्रदर्शन सम्मको प्रणाली व्यवस्थित छैन । यहाँ फिल्म खिच्न देखी प्रदर्शन गर्न सम्म धेरै समस्या छ । सुटिङ कति दिनमा प्याकअप गर्ने भन्ने बारे फ्लोरमा गएर थाहा हुन्छ किनकी हामी टेबल वर्क गर्न हिच्चिकाउँछौं । फिल्म कति वटा हलमा रिलिज हुन्छ ? निर्मातालाई कुनै जानकारी हुँदैन । त्यसकारण निर्मातालाई फिल्म निर्माण गर्नु पूर्व बजारको बारेमा ज्ञान हुन जति जरूरी छ त्यतिनै बिषयबस्तु र मेकिङको बारेमा पनि ज्ञान हुन जरूरी हुन्छ ।
५.नेपाली फिल्म बजार असफल हुनुमा राज्यको पनि ठुलो दोष छ । नेपाली फिल्मको विश्व बजार बिस्तार बारे राज्यको कुनै नीति नै छैन । विदेशी सिनेमाले हाम्रै हलबाट करोडौं उठाइरहेका छन् तर हाम्रा फिल्म भने घरेलु हलमा एक हप्ता पनि टिकिरहेका छैनन् । किनकी हामी हरेक वर्गका दर्शक लक्षित फिल्म निर्माण गर्न सकेका छैनौं । हरेक वर्गका दर्शकलाई हलसम्म तान्न सक्नु आजको चुनौती हो ।
६.मनारेञ्जनका अन्य साधन भित्रिनाले पनि नेपाली फिल्मको बजार साँघुरिदै गएको छ । कथाबस्तु, मेकिङ र प्रस्तुती सहित हलको राम्रो व्यवस्थापन हुने हो भने दर्शक नेपाली फिल्मबाट नै बढि मनोरञ्जन लिन सक्छन् ।
७.अर्को कुरा फिल्म हेर्ने उचित हलको अभाव छ । झण्डै तीन करोड जनसंख्या भएको देशमा जम्मा न्यून मात्रामा रहेका सुबिधा सम्पन्न हलले मात्रै दर्शक तान्न सक्दैन । सम्भवतः बक्स अफिस, फिल्म तथा हल वर्गीकरणको नीतिले माथि उल्लेखित समस्यालाई हल गर्नेछ ।

