Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कर्कश लगानी रिकभर ! निराश छ नेपथ्य र दृष्टिकोण

उत्सव रसाईली, काठमाण्डौ, 2013/06/19

छड्के र बधशाला पछि हाईपमा रहेको फिल्म कर्कश जेठ ३१को शुक्रबार नेपालका करिब ६० पर्दाबाट प्रदर्शनमा आयो । भिडियो तथा विज्ञापन निर्देशनको अनुभव बटुलेका आशिफ शाहको पहिलो फिचर फिल्मलाई विपक्षी दल वैद्य सहित ४२ दलको देश बन्द र असारे झरी बाधक बने ।

 

सत्ता पक्षले तोकेको मंसिर ४ को निर्वाचन मितिलाई मुख्य कारण बनाउँदै गत आइतबार आव्ह्वान गरिएको नेपाल बन्दमा काठमाण्डौ तथा मोफसलका हल साँझ ५ बजे सम्म बन्द रहे । राजधानीका केही स्टेशनमा साँझको सो खुला गरिएपनि हलमा दर्शकको न्यून चाप रह्यो । विशेषतः बन्दको मारमा मल्टीप्लेक्स टार्गेटेड फिल्म कर्कश पर्यो । शुक्रबार नै रिलिजमा आएको यति धेरै माया र केही स्टेशनमा तेस्रो र दोस्रो हप्ताको प्रदर्शन अवसर पाएका फिल्म नेपथ्य र दृष्टिकोटले पनि हल बन्दका कारण पर्दा खोल्न पाएनन् ।

 

बैद्यको बन्दसँगै यो हप्तैभरी असारे आकाश पनि खुलेन । प्रत्येक दिनको वर्षाले देशका अधिकांश हलमा प्रदर्शनरत फिल्मलाई प्रभावित पारेको हलवालाको रिपोर्ट छ । कर्कश वितरणको जिम्मा लिएका नरेन्द्र महर्जन भन्छन्- 'वर्षाले गर्दा शनिबार समेत फिल्मको व्यापार सोचे अनुरुप हुन सकेन ।'


कर्कशको लगानी रिकभर पक्का : निर्माता शाह
दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको फिल्म कर्कशले लगानी रिकभर गर्ने पक्का भएको निर्माता अशिम शाहले दाबी गरेका छन् । प्रोमोशन खर्च सहित कर्कशको लगानी ४५ रहेको बताउने निर्माता शाह भन्छन्- 'बिहिबार पछि फिल्मले गरेको सबै कलेक्सन नाफाको हुनेछ ।' शहरका मुख्य मल्टीप्लेक्स स्टेशनमा दोस्रो सातामा पनि फिल्म रिलिज हुने जानकारी दिदै वितरक नरेन्द्र महर्जन भन्छन्- 'कर्कशले पाँच दिनमा अल नेपाल पचास लाख प्लसको विजनेस गरेको छ ।'

 

कर्कशको अष्ट्रेलिया राईट १३ लाख रहेको निर्माता शाह बताउँछन् । फिल्मले लगानी रिकभर गर्ने भएपछि दंग देखिएका उनी भन्छन्- 'केही दिनमै अमेरिका, युके, डेनमार्क र आयरल्यान्डको राइट फिक्स हुनेछ ।' ब्यान्ड र गाँजाको विषयमा आधारित कर्कशमा सुरज सिंह ठकुरी, दयाह्याङ राई, सत्यराज आचार्य, रेमनदास श्रेष्ठ लगायतको अभिनय देख्न सकिनेछ ।



यती धेरै मायालाई दश लाख !

कर्कशसँगै प्रदर्शनमा आएको फिल्म यती धेरै मायाले पाँच दिनमा काठमाण्डौका १३ वटा पर्दाबाट दश लाख ग्रस कलेक्सन गरेको वितरक सुनिल मानान्धर रिपोर्ट दिनछन् । संगीत ब्यान्डकै कथालाई लिएर मोक्ष फिल्मको सम्पादनमा रहेका मानन्धर भन्छन्- 'पछिल्ला दुई हप्ता अगाडी रिलिजमा आएका कुनै पनि फिल्मको विजनेस रिपोर्ट राम्रो छैन ।' 'लभस्टोरी २०६६'को हार्ड ड्राईभ मुम्बइमै रोकिएपछि यती धेरै माया अचानक शुक्रबारबाट प्रदर्शनमा आएको थियो । लभस्टोरी २०६६ भने असार १४ गते प्रदर्शनमा आउने वितरक मानन्धर बताउँछन् ।


लगानीको पचास प्रतिशत पनि उठाएनन् 'नेपथ्य' र 'दृष्टिकोण'ले
युवाको भविष्य बुन्ने सपना बताउने फिल्म नेपथ्य र फरक पेशा अंगालेका युवायुवतीको प्रेमकथा बोकेको पारिवारिक फिल्म दृष्टिकोण व्यापारिक रुपमा सफल हुन सकेनन् । एक हप्ता अघि पछि गरेर प्रदर्शनमा आएका यी फिल्मले लगानीको पचास प्रतिशत पनि रिकभर गर्न असमर्थ रहेको वितरक बताउँछन् । रामराजा दाहालको नेपथ्य र एक समयका सफल फिल्म निर्देशक तुलसी घिमिरेको दृष्टिकोण ३५ देखी ५० लाखको लगानीमा निर्माण भएका फिल्म हुन् ।