अभिनेता राजेश हमाल पछिल्ला केही प्रोजेक्टका क्यारेक्टरमा खुला बन्दै गइरहेका छन् । विशेषतः फिल्ममा ग्रामीण क्षेत्रको पात्रलाई प्रतिनिधित्व गर्ने महानायक हमालले मेरो जीवन साथी, किन किन जस्ता फिल्ममा भने वेड तथा किस सिन दिएका छन् ।
धरानकी मधु श्रेष्ठसँगको बिहेको खबरले बजार तताएका हमाल नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्न आफ्नो रोल परिवर्तन गर्दैछन् । निर्माताको सेक्स कन्टेन्ट फिल्मको प्रस्तावलाई ओके गरिदिने हमाल फिल्म हलमा सेक्स ओरियन्टेड फिल्म हेर्दा भने केही लजाएका जस्ता देखिए । प्रसंग थियो, सिजेएमसी कलेजद्धारा आयोजित तेस्रो अफ्रिकन फिल्म फेस्टिभल ।
पछिल्ला दिनमा एक्सन कट भन्दा बाहिर रिवन काट्ने, एल्बम विमोचन गर्ने, महोत्सवमा सहभागी हुने जस्ता कार्यक्रमहरुको सहभागीतालाई प्रश्रय दिइरहेका हमाल अफ्रिकन फिल्म फेस्टिभलको चिफ गेस्ट बनेर कमलादीस्थित रसियन कल्चर सेन्टर पुगेका थिए । अन्य मुलुकका राजदुतसँग स्टेजमा उपस्थित भएका महानायक हमालले करिब पन्ध्र मिनेट जसो अंग्रेजीमा मन्तव्य राखे । उनको भनाईको साराशं थियो अफ्रिकन साँस्कृतिक पक्षबाट नेपालीले थुप्रै पक्षहरुको फलो गर्न सक्नेछन् ।
तीन दिनसम्म चल्ने अफ्रिकन फिल्म फेस्टिभलको पहिलो दिन साढे एक घण्टाको केन्याली लघु फिल्म 'द हवाइट मास्साई' प्रदर्शन गरिएको थियो । एक स्विजल्यान्ड युवती र केन्याली युवक बिचको प्रेमकथामा आधारित उक्त फिल्मलाई महानायक राजेश हमालले पनि पुरै समय हेरेका थिए । फिल्मले केन्याली नागरिकको जनजीवन र साँस्कृतिक पक्षलाई देखाउँछ । साथमा श्वेत युवती र अश्वेत युवक बिचको रोमान्सलाई पनि द हवाइट मास्साईले मज्जासँग प्रस्तुत गरेको छ ।
श्वेत र अश्वेत बिचको रोमान्सले महानायक हमाललाई भने केही असहज र लज्जास्पद पारिदियो । हलको फ्रन्ट चियरमै बसेका हमाल रोमान्सको दृश्य सुरु हुनासाथ बाहिर निस्केका थिए । तेस्रो नेपाल अफ्रिका फिल्म फेस्टिभलले नेपाल र अफ्रिका बिचको फिल्म बजारलाई केही नजिक ल्याउने आयोजक संस्थाकी प्रमुख डा. मञ्जु मिश्रले बताइन् । फेस्टिभलमा नेपालसहितका १३ फिल्म प्रदर्शन गर्ने बताईएको छ ।

