बहुचर्चित फिल्म तथा हल वर्गीकरण र बक्स अफिस आउँदो साउन १ गतेबाट लागु हुने भएको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई र चलचित्र विकास वोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताको टोलीबिच भएको बैठकले यो निर्णय गरेको हो ।
बैठकमा निर्माता संघका तर्फबाट अध्यक्ष राई सहित महासचिव केशव भट्टराई, प्रवत्ता सुरेश दर्पण पोखरेल लगायत सदस्यहरु सहभागी थिए भने वोर्डको तर्फबाट अध्यक्ष मोरवैता र अन्य कर्मचारी सहभागी थिए । करिब २ घण्टा चलेको द्धिपक्षीय बैठक मुलतः बक्स अफिस, फिल्म र हल वर्गीकरणको नीति जसरी भएपनि लागुगर्ने भन्ने विषयमा केन्द्रित थियो । यो नीतिलाई सम्भवतः नेपाल चलचित्र संघले अप्ठ्यारो पार्ने देखिन्छ ।
संघले आफ्नै तरिकाले बक्स अफिसको खाका तयार गरिरहेको बताइन्छ । बक्स अफिस, फिल्म र हल वर्गीकरणको निति लागुगर्न अवरोध खडा भए आफुहरु पुनः आन्दोलनमा जान बाध्य हुने कुरा बैठकमा राखेको निर्माता संघका प्रवत्ता सुरेश दर्पण पोखरेलले बताए । उनले भने- '४२ दिने फिल्मकर्मी आन्दोलनको मुख्य माग भनेकै बक्स अफिस, फिल्म र हल वर्गीकरण हो । यो लागु नभएसम्म फिल्म क्षेत्रको विकास असम्भव छ ।' चलचित्र संघसँग भने निर्माता संघले यो साता बैठक गर्दैछ । चलचित्र संघसँग निर्माता संघको बैठक विशेषतः भिपिसी चार्ज, हल खर्च, सेयर बाँडफाँड, बक्स अफिस लगायतको विषयमा केन्द्रित रहनेछ ।
साउन १ गतेबाट लागु गर्न लागिएको बक्स अफिसको मोडल भने आगामी बुधबार बस्ने बक्स अफिस अध्ययन समितिको बैठकले तय गर्नेछ । चलचित्र विकास वोर्डको फिल्म तथा हल वर्गीकरणको मापदण्को ड्राफ्टलाई भने सञ्चार मञ्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै मिति २०६९-०२-०७ मा नै पास गरिसकेको छ । कार्यान्वयनको प्रक्रियामा रहेको फिल्म तथा हल वर्गीकरणको नीति यस प्रकार छ -
प्राविधिक गुणस्तरीयताका आधारमा चलचित्रको वर्गीकरणका मापदण्डहरु :-
१. क प्लस चलचित्र : क.३५ एमएम सेल्युलाइडमा छायाँकन गरिएको चलचित्र । ख. सुपर १६ एमएममा छायाँकन गरी 4K इमेज साइज वा सो भन्दा माथि डिआइ गरी ३५ एमएमको प्रिन्ट बनाइएको चलचित्र । ग. 4K वा सो भन्दा माथिका क्यामेराले छायाँकन गरी ३५ एमएमको प्रिन्ट बनाइएको चलचित्र ।
२. क चलचित्र : क. 2K वा सो भन्दा माथिका Raw Footage खिच्ने क्यामेरा प्रयोग गरिएका चलचित्र । ख. सुपर १६ एमएमको क्यामेराले छायाँकन गरिएको चलचित्र ।
३. भिडियो चलचित्र : HDV/ DV Camera प्रयोग गरी छायाँकन गरिएका र Raw Footage नखिच्ने क्यामेरा प्रयाग गरिएका चलचित्र ।
नोट : माथि जुनसुकै कुरा उल्लेख भएपनि HD रिजोलुशन भन्दा माथिका जुनसुकै क्यामेराको प्रयोग गरीएका चलचित्रहरुमध्ये वोर्डबाट गठित विषय विज्ञहरुको कार्यदलबाट विषय र प्रस्तुतीमा उत्कुष्ट ठहरिएको चलचित्रलाई क प्लको मान्यता दिइनेछ ।
प्राविधिक गुणस्तरीयताका आधारमा चलचित्र घरहरुको वर्गीकरणका मापदण्डहरु :-
चलचित्र घरहरुको वर्गीकरण :
१. क प्लस वर्ग : टुके वा सो भन्दा माथिका प्रोजेक्टर जडान भएको हुनुपर्ने, सिल्भर स्क्रिन पर्दा हुनुपर्ने, डिजिटल डल्बी, डिटिएस सराउन्ड साउन्ड, इयर कन्डिसन, मेटल डिटेक्टर सहितको सुरक्षा गार्ड आदी हुनुपर्ने । चमेना गृह, आरामदायी कुर्सीहरु सहितको प्रतिक्षालय स्थलको व्यवस्था हुनुपर्ने ।
२. क वर्ग : क प्लस भन्दा कम सुविधायुक्त ।
३. ख वर्ग : ४ हजार ५ सय Lumens क वा सो भन्दा माथिका डिएसएल प्रोजेक्टर जडान भएका क वर्ग भन्दा कम सुविधायुक्त ।
(क प्लस, क र ख वर्गका चलचित्र घरहरुका लागी महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका चलचित्र घरहरुको हकमा देहाय वमोजिम छुट्टाछुट्टै व्वस्थाहरु लागु हुनेछ ।)
४. भिडियो चलचित्र घर :
५. मल्टीप्लेक्स हल
६. मेघा प्लेक्स हल
७. घुम्ती चलचित्र स्थल
८. वैकल्पिक, समानान्तर चलचित्र प्रदर्शन स्थल
९. खुला आकाशमा चलचित्र प्रदर्शन

सल्लाहाकार समिति सदस्य खारेजीको मुडमा वोर्ड अध्यक्ष मोरवैता
निकट स्रोतका अनुसार विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैता हालको विकास वोर्ड सल्लाहाकार समिति खारेजीको मनस्थितिमा पुगेका छन् । अशोक शर्मा सभापती रहेको सल्लाहाकार समिति सक्रिय हुन नसकेको र सदस्य केपी पाठकले राजिनामा दिएको लगायत कारण देखाउँदै अध्यक्ष मोरवैताले सल्लाहाकार समिति खारेज गर्न लागेका हुन् । केही दिनमै बस्ने भनिएको वोर्ड बैठकले सल्लाहाकार समिति सदस्य खारेजीको निर्णय गर्ने स्रोतको दाबी छ । अहिलेको सल्लाहाकार समितीमा नायिका रेखा थापा सहित तपनाथ शुक्ला, राजकुमार पोखरेल लगायत छन् ।

