किस्मत, हिफाजत र कस्ले चोर्यो मेरो मन पछि छबिराज ओझाले निर्माण गरेका तीन फिल्म अन्दाज, रावण र हमेशामा आर्यन सिग्देललाई लिएनन् । आर्यन छबिको फिल्ममा अटाउन नसक्नुको मुख्य कारण थिईन् रेखा थापा । अहिले छबिबाट रेखा अलग्गिएपछि आर्यन छबिराज प्रोडक्सनमा दोहोरिन थालेका छन् ।
भर्खरै मात्र आर्यनलाई लिएर लोफर बनाएका छबिले भाद्र महिनाबाट फ्लोरमा जानेगरी नवल नेपालले निर्देशन गर्ने अनटाईटल प्रोजेक्टमा आर्यनलाई नै दोहोर्याउने बताए । '९० प्रतिशत सम्भावना आर्यनको छ,' फिल्मीखबरसँग कुरागर्दै छबिले भने- 'आर्यनको मार्केट राम्रो छ र मेरो कथामा ऊ नै फिट हुन्छ । त्यसैले आर्यनलाई पुन: लिन लागेको हुँ ।' कुरा चलिरहेपनि आर्यनले कागजी एग्रिमेण्ट भने गरिसकेका छैनन् ।
दशैंमा लोफर रिलिज गर्ने तयारी गरेका छबिले नवलले निर्देशन गर्ने फिल्मलाई आगामी नयाँ बर्षमा रिलिज गर्ने बताए । एउटा रिलिज नहुँदै अर्को निर्माण गर्न कस्सिएका छबि जोस्सिदै भन्छन्- 'दशैंमा रिलिज गरेपछि नयाँ बर्षमा के गरेर बस्ने त ?' दशैं र नयाँ बर्ष तपाईंकै कब्जामा हो कि क्या हो ? भन्ने जिज्ञासामा छबि भन्छन्- 'मैले इण्डष्ट्रीकै लागि फिल्म बनाउने हो बाँकी कुरा आँफै बुझ्नुस् ।'
आज सोमबारबाट संगीतको काम शुरू भएको बताउँदै छबिले फिल्ममा चेतन सापकोटाको संगीत, किरण खरेलको गीत तथा महाराज थापाको एरेञ्ज रहने बताए । नवल नेपालकै लेखन रहने यो फिल्ममा शुरूमा रेखा थापा हिरोईनको रूपमा कुरा चलेको भएपनि छबिले अब नयाँ हिरोईन लिने बताए । 'पहिला हल्का कुरा भएको हो तर अब म आफै फिल्म गर्दिन,' रेखाले भनिन् ।

