नेपाली फिल्म अब प्रोमो, पोष्टर्स, स्टार पावर र मिडिया हाइपले चल्ने छैनन् । डेढ वर्षको फिल्म बजारको रिजल्टले यस्तै देखाउँछ । यो बिचमा धेरै स्टारहरु चिप्लिए । सामाजिक सञ्जालमा प्रोमो र पोष्टर्स हिट मानिएका फिल्महरु हलमा पुग्दा भने नराम्ररी थला परे । कुनै फिल्ममा त फेसबुक र युवट्युवमा लाइक, कमेन्ट गर्ने जति दर्शक पनि हलमा देखिएनन् । तर, निर्माताले सुपरफल्प फिल्मलाई बबाल विजनेस भन्न भने कहिल्यै छोडेनन् ।
फिल्म क्षेत्रले आशा गरेका र सामाजिक सञ्जालमा हिट मानिएका फिल्महरु कलिउड, छड्के, धन्दा, कथा जस्ता फिल्महरुले हलमा कुनै जादु छर्न सकेनन् । छड्केले इनिसियल व्यापारमा रेकर्ड राखे पनि फिल्म झुर बनाएका कारण नेपाली फिल्मप्रती दर्शक भड्काएको भन्ने आरोप खेप्नुपर्यो । फलस्वरुप त्यसपछि रिलिजमा आएका फिल्म मञ्जरी, अन्तराल, साँघुरो, उमाले हलमा दर्शकको उलेख्य साथ पाउन सकेनन् । भलै प्रदर्शनरत फिल्म कर्कशले पनि सोचे अनुरुप दर्शक तान्न नसकिरहेको रिपोर्ट छ । बन्द र वर्षाले पनि यो फिल्मको विजनेसलाई असर पारेको देखिन्छ ।
आशा र प्रतिक्षामा रहेको फिल्मले निराश बनाए पनि फिल्म निर्माण र प्रदर्शनको क्रम नरोकिएसम्म फिल्म क्षेत्र र दर्शकले केही फिल्म प्रति भने आशा पलाएका छन् । केही त्यस्ता फिल्म जस्ले दर्शक र फिल्म क्षेत्र प्रति आशा जगाइदिएका छन्, ती फिल्म बारे केही चर्चा गर्रौ :-
होस्टेल
प्रोमोमा प्रयोग गरिएको डायलगले फिल्म होस्टेल विशेषगरी युवादर्शक माझ हिट बन्दै गइरहेको छ । होस्टेलका लिड क्यारेक्टर्स अनमोल केसी र सलोन बस्नेतले बोलेको केटीको भनेको हट हुनुपर्छ क्युट त पप्पी पनि हुन्छ, हट त उसीनेको आलु पनि हुन्छ.....भन्ने डायलगले अहिले बजार तताइरहेको छ । भदौ १४ लाई रिलिज तोकिएको होस्टेललाई हेमराज विसीले निर्देशन गरेका हुन् ।
महसुश
आर्यन सिग्देल र केकी अधिकारीको जोडीले दर्शकलाई हलसम्म तान्न सक्ने विश्वास धेरैको छ । सफल फिल्म श्रीमानका निर्देशक नवल नेपालको निर्देशन भएकाले पनि फिल्म उद्योग महशुस प्रति आशावादी भएको हो । कल्याण घिमिरेको लगानी रहेको महसुशमा वेनिशा हमालको पनि अभिनय रहेको छ ।
बितेका पल
सायद निर्देशक सुरज सुब्बाको फिल्म बितेका पललाई पनि फिल्म क्षेत्रले आशालाग्दो फिल्मको रुपमा चित्रण गरेको छ । समय लिएरै भएपनि राम्रो आउट पुट दिने निर्देशक सुब्बाको फिल्ममा केकी अधिकारी र बाबु बोगटीको लिड रोल रहेको छ । सुब्बाले यसअघि बाटोमुनिको फुल र सायद जस्ता सफल फिल्मको निर्देशन गरेका छन् ।
लोफर
फिल्म जस्तो सुकै भएपनि दर्शकलाई हलसम्म ल्याउने निर्माताका रुपमा छविराज ओझालाई फिल्म क्षेत्रले चिन्छ । यही चिनारीलाई मध्यनजर गर्दै निर्माता ओझाको फिल्म लोफरलाई पनि फिल्म क्षेत्रले दर्शक तान्न सक्ने फिल्मको रुपमा चित्रण गरेको छ । नवनिर्देशक आदित्य विक्रम लम्सालको निर्देशन रहेको यस फिल्ममा दयाह्याङ राई, आर्यन सिग्देल, सुशिल राज पाण्डे लगायतको अभिनय छ ।
काली
छविको ओझासँग छुट्टिए पश्चात रेखाले निर्माण गरेको पहिलो फिल्म काली विशेष गरी सेक्स कन्टेन्ड र फरक धारबाट भड्किएका नियमित दर्शकलाई हलमा तान्ने विश्वास छ । शविर श्रेष्ठको निर्देशनमा निर्माण हुदै गरेको यस फिल्म रेखा दबंग स्टाइलमा प्रस्तुत हुनेछिन् । रेखाको कालीमा किशोर खतिवडा हिरो छन् ।
फिटकिरी
थिएटर र फिचर फिल्मका एक्टर अनुप बरालको निर्देशन भएकै कारण फिटकिरीलाई फिल्म क्षेत्रले केही गर्न सक्ने फिल्मको रुपमा लिएको छ । फिटकिरीमा सौगात मल्ल र दिया मास्के लिड रोलमा प्रस्तुत भएका छन् । साथमा लुट निर्देशक निश्चल बस्नेतको पनि छोटो भुमिका छ । यसअघि चपली हाईट निर्माण गरेका अर्जुन कुमार यो फिल्मका निर्माता हुन् ।
ढुवानी
ब्याच नम्बर १६ का निर्देशक पिताम्वर पाण्डे निर्देशित फिल्म ढुवानीलाई पनि विश्लेषकहरुले आशा गर्न लागय फिल्मको कोटीमा राखेका छन् । कविता श्रेष्ठको लगानी रहेको यस फिल्ममा किशोर खतिवडा लगायतको मुख्य रोल रहेको छ । यसअघि चेलिबेटी बेचबिखनमा फिल्म बनेपनि ढुवानीले उठाएको चेलीबेटी बेचबिखनको कथालाई दर्शकले रूचाउने आश सार्वजनिक प्रोमोले देखाएको छ । तर पनि प्रोमोमा मात्रै भर परिहाल्ने अवस्था भने छैन ।
झोले
पछिल्लो समय चर्चामा रहेका अभिनेता दयाहाङ राईलाई लिड रोलमा प्रस्तुत गरेको फिल्म झोलेबाट पनि केहि आश गर्न सकिन्छ । ०६९ सालमा पपुलर डेब्यू एक्टर्सको अवार्ड पाएकी प्रियंका कार्कीको समेत अभिनय रहेको यो फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । सामाजिक व्यङ्ग प्रहार गरिएको डार्क कमेडी झोलेले निर्माता टेकेन खड्कालाई झोला भर्छ या भर्दैन भोलीको कुरा । आश गरौं झोलेले दर्शकलाई निराश बनाउने छैन ।
शविर श्रेष्ठ निर्देशित फिल्म आधी बाटो, नम्रता श्रेष्ठ र अर्पण थापाको अभिनित सुरज भुषालको मौन र भदौ १४ मा रिलिज हुने प्रोड्यूसरलाई पनि फिल्म क्षेत्रले आशाको केन्द्रमा राखेको छ । प्रोमो र मेकर हेरेर नै फिल्मलाई मस्ट वेटेड भन्न सक्ने अवस्था नरहेपनि हामीले आशलाई भने मार्न सक्दैनौं ।
कुनै समयमा सिल्भर जुब्ली मनाउने फिल्म निर्देशन गरेका तुलसी घिमिरे देखि अधिकांश फिल्म हिट दिएका शिब रेग्मी समेत पछिल्लो समय निरन्तर फ्लप हुँदै गएपछि यो इन्डष्ट्रीमा कस्को फिल्म हिट हुन्छ भन्न सकिन्न । त्यसैले हामी भन्छौं- 'आश गरौं तर भर नपरौं ।'

