Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर शाहको नजरमा `रीमा` उर्वसी र मेनका

फिल्मीखबर, काठमाण्डौ, 2013/06/15

बरिष्ठ फिल्मकर्मी निर शाहले नेपाली शब्दकोषमा नै नायिका तथा मोडल रीमा बिश्वकर्मालाई प्रशंशा गर्ने शब्द भेटेनन् । शनिबार समन अधिकारीले निर्देशन गरेको भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथीको रूपमा आमन्त्रित शाहले रीमाको कामको तारिफ गर्दै भने- 'रीमालाई बखान गर्ने शब्द नेपाली शब्दकोषमा नै पाउन गार्‍हो छ ।'

 

रीमाले अर्न्तवार्ता लिने क्रममा नजिकबाट चिनेको बताउँदै शाहले उनको कामको तारिफ गर्दै भने- 'म प्रतिभावान मान्छेलाई छिटो चिन्छु र बेमानलाई ढिलो चिन्छु । पहिलो भेटमा नै मैले रीमालाई राम्रोसँग चिन्ने मौका पाएँ किनकी उनी बुद्धि र विवेकले भरिएकी धर्तीकी परी हुन् ।' उर्वसी र मेनका सुन्दर भए पनि उनीहरूमा घमण्ड रहेको भएपनि रीमामा भने आफूले कुनै घमण्ड नपाएको शाहले बताए ।

 

पछिल्लो समय फिल्ममा भन्दा म्युजिक भिडियो र अन्य इभेन्टहरूमा बढि व्यस्त रहेकी रीमा एक आशलाग्दो कलाकारको रूपमा फिल्म उधोगले चिनेको छ । शाह थप्छन्- 'रीमाको भविष्य उज्जवल छ यदि उनमा घमण्डले बास गरेन भने ।'

 

यस्तै शाहले भिडियो निर्देशनमा राम्रो छाप छोडिरहेका समन अधिकारीको पनि खुलेर तारिफ गरे । शाहले भने- 'समनजी पनि सम्भावना बोकेको कुशल र प्रतिभावान व्यक्ति हुनुहुन्छ ।' समनले चार बर्ष देखि शाहलाई गुरू मान्दै आएका छन् ।

 

समनको निर्देशनमा रेस्क्यू क्रियशनले निर्माण गरेको चार वटा म्युजिक भिडियो उक्त कार्यक्रममा प्रिमियर गरिएको थियो । भारतको राजस्थानमा सुटिङ गरिएको उक्त चार भिडियो मध्ये तीन वटा भिडियोमा रीमाले अभिनय गरेकी छिन् भने एउटा भिडियोमा अपेक्षा सिलवालको अभिनय छ । यस्तै पुरूष मोडलको रूपमा बिमलेश अधिकारी, रञ्जन रिजाल र जीके शर्मालाई देख्न सकिन्छ ।

 

सम्पूर्ण भिडियोको छायांकन विदुर पाण्डेले गरेका हुन् । यस्तै भिडियोको सम्पादन प्रकाश तुलाधर र रविन्द्र खड्काले गरेका हुन् । रेक्यू क्रियशनले आगामी दिनमा बिदेशका बिभिन्न स्थानमा म्युजिक भिडियोको सुटिङ गर्ने निर्देशक अधिकारीले बताए । झण्डै २०० म्युजिक भिडियो निर्देशन गरेका अधिकारीले यसअघि भारतकै गोवा, नैनी ताल लगायतका स्थानमा भिडियो सुटिङ गरेका छन् । उनले अब छिट्टै नै भारतको कास्मिर पुग्ने बताए ।

 

भिडियो प्रिमियर कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई सहित संगीत क्षेत्रमा थुप्रै व्यक्तिहरूको उपस्थिती रहेको थियो । उपस्थित सबैले समनले निर्देशन गरेको भिडियो राम्रो बनेको प्रतिक्रिया दिए ।