इजरायलमा रहेका नेपालीहरू फिल्म रिदम हेरेर रोए । इजरायलको समय अनुसार शुक्रबार साँझ तेल्लभिभमा रिदम प्रदर्शन भएको थियो । महिला दर्शकको बाहुल्यता रहेको सो हलमा फिल्म हेरेपश्चात अधिकांश दर्शक रूँदै निस्केका थिए ।
किराँत यक्थुङ्ग चुम्लुङ्ग नेपाल इज़रायलको आयोजनामा भएको फिल्मको प्रदर्शन पूर्व कलाकार विल्सन विक्रम राईले हाँस्य प्रस्तुती पस्केका थिए । शुरूमा विल्सनले दर्शकलाई निकै हँसाए भने फिल्म प्रदर्शन पश्चात दर्शक रूँदै हलबाट निस्के । उपस्थित दर्शकले फिल्म निकै राम्रो बनेको प्रतिक्रिया दिए । बिशेषत: फिल्ममा राखिएको राष्ट्रिय गीतले मन छोएको दर्शकको प्रतिक्रिया थियो ।
आठ महिनाको विचमा दुई पटक इजरायल आएका विल्सनले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदा खुसी व्यक्त गरे । 'यति धेरै दर्शक उपस्थित हुनुहुन्छ जस्तो लागेको थिएन,' विल्सनले भने- 'यसरी नेपाली फिल्म र कला प्रति प्रेम दर्शाउँदा हामी कलाकार साँच्चिकै गौरवान्वित हुन्छौं ।' यस्तै विल्सनले केहि दिनमा नै लण्डनमा पनि रिदमको प्रदर्शन हुने बताए । लण्डनबाट इजरायल आएका विल्सन सोमबार पुन: लण्डन फर्कदै छन् ।
प्रदिप दाहालको निर्माण र विकास आचार्यद्धारा निर्देशित फिल्म रिदममा विल्सनको साथमा जीवन लुईटेल, स्वेता भट्टराई, निर शाह, सोहित मानन्धर, निश्मा घिमिरे र अनुभव रेग्मीको मुख्य भुमिका रहेको छ । यो फिल्म नेपालमा सफलताका साथ प्रदर्शन भईसकेको छ ।

