बरिष्ठ फिल्म निर्देशक तुलसी घिमिरेले घटिया फिल्मको बाढी आउँदा ‘मार्केट’ विग्रिन पुगेको बताएका छन् । शुक्रबार पोखरामा पत्रकारहरुसंग बोल्दै निर्देशक घिमिरेले थोरै बजेटमा बन्ने नराम्रा फिल्मले राम्रा फिल्मलाई पनि असर पुर्याएको बताए ।
‘दशवटा फिल्म लगातार नराम्रो बन्दा त्यसपछि आउने एउटा राम्रो फिल्मलाई असर गर्छ’, उनले भने । घिमिरेले त्यस्ता फिल्मकै कारण २५ वर्षे इतिहास २५ महिनामै ध्वस्त भएको उल्लेख गरे । फिल्म हलमा चलाउन गुण्डागर्दी गर्ने प्रवृत्ति बढेको बताउँदै घिमिरेले अहिले दुई लाख रुपैँया ‘गुण्डा बजेट’ नै राख्नुपर्ने अवस्था आएको जनाए । उनले भने– ‘घटिया फिल्मको बाढी ल्याएर गण्डागर्दी गर्ने प्रवृत्तिले नेपाली फिल्म क्षेत्र धराशायी हुन्छ ।’
फिल्मको अत्याधिक प्रचारप्रसार गर्ने तर विषयवस्तु केही नहुने हुँदा नेपाली फिल्मका दर्शकहरु भाँडिएको उनको भनाई थियो । ‘आजकल मेकिङमा भन्दा पोष्टरमा धेरै पैसा खर्च गरिन्छ’, उनले भने- ‘ट्रेलर आकर्षक हुन्छ, तर ट्रेलरमा जति छ फिल्ममा त्यति मात्रै हुन्छ ।’ घिमिरेले दर्शकलाई वितृष्णा जगाउने फिल्मको नामोनिशान मेटाउनुपर्ने विचार व्यक्त गरे । नेपाली फिल्मलाई माथि उकास्न फिल्म र हलको वर्गीकरण गर्न जरुरी रहेकोमा घिमिरेले जोड दिए ।
श्रीमती तथा कलाकार भारती घिमिरे सहित उपस्थित निर्देशक घिमिरेले सोही अवसरमा आफुद्वारा निर्देशित ‘दृष्टिकोण’ राम्रो फिल्म बनेको दावी गरे । ‘सामाजिक परिवेशमा बनेको फिल्म दृष्टिकोणमा फिल्मी खुराक छ’, उनले भने- 'यो स-परिवार हेर्न मिल्ने फिल्म हो ।’ उनले दर्पणछायाँ जत्तिकै दृष्टिकोण पनि सशक्त रहेको दावी गरे । घिमिरेद्वारा निर्देशित ‘दृष्टिकोण’ अहिले देशभरका विभिन्न हलहरुमा दोश्रो हप्तामा चलिरहेको छ ।

