फिल्मको प्रमुख पात्र नम्रता श्रेष्ठको जन्मदिन पारेर मौन फिल्मको पोष्टर रिलिज गरिएको छ । साइलेन्ट प्रोमो सार्वजनिकको केही दिनमै मौन युनिटले पोष्टर सार्वजनिक गरेको हो ।
बहिराहरु पढ्ने नक्म्सालस्थित केन्द्रिय बहिरा उच्च माध्यामिक विद्यालयमा नम्रताले आफ्नो २७ औ जन्मदिनको केक काटेपछि मौनको पोष्टर सार्वजनिक गरेकी थिइन् । पोष्टर सार्वजनिक कार्यक्रममा अर्का मुख्य पात्र अर्पण थापा र निर्देशक सुरज भुषाल लगायतको फिल्म युनिट पनि उपस्थित थियो । केन्द्रिय बहिरा स्कुलबाट फिल्मको थालनी प्रारम्भ गरिएकाले सोही ठाउँमा पोष्टर लन्च गरिएको हो । त्यहाँ पढ्ने विद्यार्थीहरुलाई मौन युनिटले स्टेशनरी पनि हस्तान्तरण गरेको थियो ।
सुरजको डेब्यू निर्देशन 'मौन' लाउड साइलेन्स फिल्म हो । मौनमा नम्रता जन्मजातै र अर्पण दुर्घटना पछि बोल्न असक्षम भुमिकामा प्रस्तुत हुँदैछन् । दुई बोल्न नसक्ने पात्रको प्रेम कहानीलाई मौनले मुख्य विषय बनाएको छ । भदौमा फिल्म रिलिज हुने भनिएपनि डेट भने खुलाइएको छैन ।







