म्युजिकल कमेडी फिल्म कर्कशले शहरका मल्टिप्लेक्स स्टेशनहरुमा उत्साहको ओपनिङ गरेको रिपोर्ट छ । राजधानीका सिभिल मल, गुण, गोपी, पोखरा र धरानको पर्दामा आशिफ शाह निर्देशित कर्कशले दर्शकको बाक्लो साथ छ ।
सिङगल स्टेशनहरुमा भने ब्यान्ड व्यायहरुलाई दर्शकले ठिकैको साथ दिएका छन् । कर्कशले सिभिल मलमा ९, १२ र ३ बजेको सोमा हाउस फुलको व्यापार गर्यो । भोली शनिबारको पनि सिभिल मलमा साँझ ६ र ९ बाहेक अन्य ३ वटा सोज भने बुकिङ फुल भैसकेको छ । क्यूएफएक्स अर्न्तगतकै कुमारी हलमा भने कर्कशले मध्यम सुरुवाती व्यापार गरेको छ । कुमारी हल कर्मचारी भन्छन्- 'कर्कशको सुरुवाती व्यापार निराश हुनु पर्ने छैन ।'
बिग र एफक्युव हल केएल टावरमा पनि यसको सुरुवाती व्यापार मध्यम नै छ । निर्देशक शाह भन्छन्- 'दर्शकको प्रतिक्रियाबाट उत्साहित छु । दर्शक फिल्म हेरेर खुसी हुनुहुन्छ ।' देशको करिब ६० वटा स्टेशनहरुमा प्रदर्शनरत दर्शकले कर्कशलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । युवा जमातले यो फिल्मलाई लुटसँग दाँजेको पाइएको छ । टेलिभिजन टक शो कल कान्तिपुरका चर्चित प्रस्तोता सुरज सिंह ठकुरी, दयाह्याङ राई, साँगितिक फिल्डका सत्यराज आचार्य, आरजे रेमनदाश श्रेष्ठ कर्कशका मुख्य पात्र हुन् । साथमा राजेन्द्र खड्गी, रागिनी खड्गी, हर्षिका श्रेष्ठ लगायतको अभिनयलाई पनि कर्कशमा देख्न सकिन्छ ।
निर्देशकका भाई अशिम शाहको लगानी रहेको कर्कश मिडिया हाईपमा रहेको फिल्म हो । सुरुवाती व्यापार सन्तोषजनक नै गरेको कर्कशले निर्मातालाई राहत पुर्याउने बारे भने आईतबारको व्यापारले निर्धारण गर्नेछ । निर्माण युनिटले कुमारी हलमा साँझ ५: ४५ बजेको शोमा टिकेट काटेर केहि फिल्मकर्मी र सञ्चारकर्मीलाई देखाउँदै छ ।

