निर्माता संघले आगामी सोमबार देखि चलचित्र निर्माता संघसँग निर्णायक वार्ता थालनी गर्ने भएको छ । निर्माता संघका महासचिव केशव भट्टराई र चलचित्र संघका सह-महासचिव मधुसुदन प्रधानको टोली बिच हल तथा फिल्मको वर्गीकरण, हलमा जडान गरिएको सर्भर चार्ज लगायतको विषयमा निर्णायक छलफल हुने निर्माता संघका अध्यक्ष राजकुमार राईले फिल्मीखबरलाई जानकारी गराए ।
नक्सालस्थित संघको कार्यलयमा आज (जेठ ३०) बसेको कार्य समिति बैठको गरेको निर्णय बारे जानकारी गराउँदै अध्यक्ष राईले भने- 'चलचित्र संघसँग फिल्म क्षेत्रको व्यवस्थापन बारे निर्णायक बैठक हुनेछ ।' हल तथा फिल्म वर्गीकरणको विषयमा चलचित्र संघ सहतीमा नआए अन्य संघसंस्थालाई साथमा लिएर आफ्नो कार्यनीतिलाई कार्यन्वयन गर्न अगाडी बढ्ने समेत उनले बताए ।
अध्यक्ष पदमा दोस्रो कार्यकालका लागी निर्वाचित भएको केही सातामै प्रस्तुत गरेको कार्य पत्रमा समावेश हप्तामा २ वटा मात्रै फिल्म रिलिज गर्ने बारे पनि सम्बन्धीत संघ संस्थासँग वृहत रुपमा छलफल भैरहेको उनको भनाई छ । चलचित्र संघसँग निर्णायक बैठक बस्नु अघि नियमक संस्था विकास वोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताको टोलीसँग छलफल गरिनेछ । निर्माता संघका वार्ता टोलीका संयोजक केशव भट्टराईका अनुसार यस अघिका बैठकमा वोर्डका अध्यक्ष मोरवैताले साउन १ भित्र हल तथा फिल्म वर्गीकरण निति लागु गर्ने प्रतिवद्धता जनाएका छन् ।
अध्यक्ष मोर्वैताको भनाई उदृध गर्दै संयोजक भट्टराई भन्छन्- 'बक्स अफिस प्रणाली बारे अध्ययन तथा अनुसन्धान भैरहको अध्यक्षले बताउनु भएको छ । जुन यथाशिघ्र लागु हुन्छ ।' फिल्मकर्मीको ४६ दिने आन्दोलन पछि सहमती भएका बक्स अफिस, हल वर्गीकरण लगायतका बुँदाहरु कार्यन्वयन नभएका पुनः अर्को चरणको आन्दोलन गर्ने निर्माता संघले चेतावनी दिएको छ ।
नक्कलीको घरमा संघको कार्यालय
नक्कलीको ट्याग भिरेकी बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालको घरमा चलचित्र निर्माता संघको कार्यालय सर्ने भएको छ । स्थापना काल २०५५ सालदेखी नक्सालको एक घरमा भाडामा बस्दै आएको संघले पार्किङमा समस्या र कोठाको अभाव भएको भन्दै संघको कार्य समिति बैठकले उक्त निर्णय गरेको हो । गहनापोखरीमा रहेको भुषालको ६ कोठाको घरमा संघको कार्यालय असार १ गते देखि सर्ने महासचिव केशव भट्टराईले जानकारी गराए ।

