आगामी असार ७ गते रिलिज हुने भनिएको फिल्म 'अप्रिल फूल' नाङ्गो फिल्म नभएको निर्माण युनिटले दाबि गरेको छ । केहि समय अगाडी सार्वजनिक गरिएको फिल्मको प्रोमो हेरेर दर्शकले नाङ्गो फिल्मको रूपमा अनुमान लगाएको प्रतिक्रिया पाएपश्चात स्पष्टिकरण दिंदै निर्माण युनिटले यौन प्रधान फिल्म नबनाएको बताएको हो ।
बुधबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि निर्देशक भद्र भुजेलले फिल्मको बारेमा बोल्दै भने- 'अप्रिल फूलमा साथीभाई तथा आफन्तलाई ढाँट्दा त्यसले निम्त्याउने असरलाई फिल्ममा देखाउन खोजिएको छ ।' बजारमा चले अनुसारको फिल्म भल्गर नभएको भुजेलले दाबि गरे । यस्तै फिल्मकी नायिका सुमिना घिमिरेले पनि फिल्म सिम्पल नै बनेको बताईन् ।

सुमिना घिमिरे, कुमार लामिछाने, विनोद न्यौपाने, मनोज लामिछाने, महिमा सिलवाल, किरण न्यौपाने लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई टिकाराम बिष्ट,र विनोद लामिछानेले निर्माण गरेका हुन् । दीपक शर्माको संगीत रहेको यो फिल्मका छायाँकार रामशरण उप्रेती हुन् भने द्धन्दनिर्देशन सूर्य थोकर तथा करियोग्राफी कविराज गहतराजको रहेको छ ।

