दुई वर्ष अघि प्रदर्शनमा आएको नेपाली फिल्म 'अन्दाज'को 'सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला...' बोलको गीतले बजार राम्रैसँग पिट्यो । रेखा थापा र जीवन लुईटेलले कम्मर मर्काएको यो गीतको लोकप्रियता अहिले सेलाएको छैन ।
गीतको चर्चाकै कारण यसका संगीतकार बसन्त सापकोटा अहिले फिल्म संगीतको व्यस्त तालिकामा हिडिरहेका छन् । साथमा डिम्पल पर्ने गालामा स्वर दिने माण्डवी त्रिपाठी पनि रातारात हिट बनिन् । डिम्पल पर्ने गालाले माण्डवीको प्लेव्याक सिङगीङमा ह्वात्तै डिमान्ड बढायो । उनले विभिन्न महोत्सवदेखी विदेश भ्रमणको पनि अवसर पाइन् । डिम्पल पर्ने गालाले माण्डवीलाई जसरी हिट बनायो त्यसपछि उनले स्वर दिएका गीतले बजारमा भने हिट लिस्टमा उभ्याउन सकेन ।
डिम्पल पर्ने गाला पछि चार सय नजिक फिल्मको गीतमा स्वर रेकर्ड गराएको बताउने माण्डवी अहिले पनि आफ्नो हिट फिल्मी गीतमा डिम्पल पर्ने गाला नै सम्झिन्छीन् । माण्डवी भन्छिन्- 'रेकर्ड गराउँदा चल्छ भनेको गीत चल्दैन ।' माण्डवीलाई 'धड्कन भित्र' फिल्मको 'शिरमा टोपी...' बोलको गीतले हिट खान्छ भने रैछ । तर, उनले सोचे जस्तो भएन । पछिल्ला आफ्ना गीतहरु हिट नहुनु बारे उनी भन्छिन्- 'अहिले गीतको रिहर्लसल कम हुने गरेको छ । निर्माता पनि गीतमा धेरै खर्च गर्ने ईच्छा देखाउँदैनन् ।'
उसो त माण्डवी आफ्नो स्वर मात्रै बजार नचलेको मान्न तयार छैनन् । उनका अनुसार दर्शक तथा स्रोता नेपाली फिल्मी गीतबारे कम चासो दिन्छन् । माण्डवी थप्छिन्- 'सर्जक पनि दर्शक तथा स्रोतालाई कस्तो टेस्ट दिने भन्ने बारे दोधारमा हुनुहुन्छ ।' फिल्म संगीतले बजार नपिट्नुमा विविध कारण हुन सक्लान् । तर, डिम्पल पर्ने गाला गाएर हिट बनेकी माण्डवी भने अहिले सिम्पल प्लेब्याक सिङ्गीङमा चित्त बुझाउन बाध्य छिन् ।

