नायक सुमन सिंह लक्की मानिन्छन् । कारण, उनी अभिनित फिल्मले प्रायः सातै पिच्छे हल प्रवेशको अवसर पाइरहेका छन् । तर, विडम्वना उनका सबै फिल्म हलमा उत्साहको व्यापार गर्नबाट असफल छन् ।
हल विजनेसको आधारमा अनलक्की नायकको रुपमा विश्लेषण गरिदै आएका सुमनलाई अब भने जुवाडेको रोलमा देख्न पाइनेछ । लभर एण्ड एक्सन रोलमा देखिदै आएका सुमन जुवाडेको क्यारेक्टरमा सम्भवतः पहिलो पटक प्रस्तुत हुदैछन् । दर्शकले यो क्यारेक्टरलाई मन पराउने आशा उनको छ ।
रमेश बुढाथोकी निर्देशित फिल्म ग्याम्बलर युनिटले सोमबार अनामनगरस्थित फस्टलुक सार्वजनिक कार्यक्रम राखेको थियो । जहाँ पोष्टर, प्रोमो एवम गीत सार्वजनिक गरियो । कार्यक्रममा बोल्दै ग्याम्बलर सुमनले भने- 'राम्रो रोल प्ले गरेको छु दर्शकले फिल्मलाई मन पराउने आशा छ ।' त्यस्तै निर्देशक रमेश बुढाथोकीले भने ग्याम्बलर अहिलेको ट्रेण्ड भन्दा फरक विषयवस्तुलाई सुक्ष्म तरिकाले प्रस्तुत गरिएको फिल्म रहेको बताए ।

नेपाल चलचित्र कलाकार संघका पुर्व अध्यक्ष समेत रहेका बुढाथोकीले भने- 'ग्याम्बलर खिच्नु अघि मैले तीन महिना क्यासिनोको अध्ययन गरेको थिएँ ।' त्यस्तै कार्यक्रमको अन्त्यतिर उपस्थित भएका अभिनेता राजेश हमालले ग्याम्बलरबाट निर्माता निराश नहुने आशा व्यक्त गरे । कार्यक्रममा संगीतकार शम्भुजित बाँस्कोटा, निर्माता यादव गुरुङ लगायतको उपस्थिति थियो ।

रिलिज डेट तोक्न बाँकी ग्याम्बलरमा राजेश र सुमन सहित सौजन्य सुब्बा, कल्पना शाही, निर्देशक पत्नी विना बुढाथोकी लगायतको अभिनयलाई देख्न सकिन्छ ।

