अभिनयका खानी विल्सन विक्रम राई भगवान शंकर अर्थात् भोलेबाबाको चरणमा पुगेका छन् । आज शुक्रबारबाट देशव्यापी रिलिज हुन लागेको फिल्म 'नेपथ्य'लाई सफल बनाईदिन आग्रह गर्दै राईले भोलेबाबाको चरण परेका हुन् ।
साँगीतिक कार्यक्रमका लागि हाल युकेमा रहेका विल्सनले फिल्म रिलिजको बेला नेपालमा हुन नपाउँदा दु:ख व्यक्त गर्दै फिल्मको सफलताको कामना गरि युकेमा नै भोलेबाबाको अगाडी नेपथ्यको पोस्टर राखि फिल्म सफल बनाईदिन बिन्ति बिसाए । रिलिजको समयमा युनिटसँगै बस्न नपाएकोमा चिन्ता व्यक्त गरेका विल्सनले फिल्मीखबरसँगको सम्पर्कमा भने- 'यो बर्षको मेरो पहिलो रिलिज फिल्म हो । त्यसैले कस्तो रिजल्ट आउने हो भनेर निकै उत्साहित र केहि नर्भस पनि छु ।'
पब्लिसिटीमा हिड्न नपाए पनि युकेबाटै फिल्मको सफलताको कामना गरेको विल्सन बताउँछन् । 'यो फ्राईडेलाई मैले निकै मिस गरेको छु,' विल्सनले भने- 'मैले पब्लिसिटीमा टाईम दिन सकिन त्यसैले युनिटसँग माफी पनि माग्न चाहन्छु ।' नेपालमा पब्लिसिटी गर्न नसकेपनि युकेमा भने फिल्मको पब्लिसिटी मज्जाले नै गरेको बताए । उनीसँगै युकेमा रहेका हाँस्यकलाकार केदार घिमिरे (माग्ने बुढा) पनि नेपथ्यको पब्लिसिटीमा जुटेको प्रस्तुत तस्विरले देखाउँछ ।
.jpg)
रामराजा दाहालको निर्माण तथा निर्देशनमा बनेको यो फिल्ममा विल्सनको साथमा आदित्य बुढाथोकी, मानव सुवेदी, रेम विक, सोना तिमल्सिना लगायतले अभिनय गरेका छन् । मानव सुवेदीको संगीत, सुसन प्रजापतिको छायाकंन, बाबु बलामीको द्धन्दनिर्देशन तथा गम्भिर विष्टको नृत्यनिर्देशन रहेको यो फिल्मसँगै तुलसी घिमिरेले निर्देशन गरेको दृष्टिकोण र शिव घिमिरेले निर्देशन गरेको सुपारी पनि शुक्रबार नै रिलिज भएको छ ।

