दुई बर्ष अगाडी रिलिज भएको सफल फिल्म 'श्रीमान' निर्माण गरेका कल्याण घिमिरेले आफ्नो पछिल्लो फिल्म 'महसुश' निकै राम्रो बनेको बताएका छन् । 'श्रीमानलाई दर्शकले निकै रूचाईदिनु भयो । महसुश त्यो भन्दा राम्रो छ त्यसैले दर्शकले पक्कै मन पराउनुहुनेछ,' कल्याणले भने ।
साउन ३२ गते रिलिज हुन लागेको यो फिल्मलाई श्रीमानकै निर्देशक नवल नेपालले निर्देशन गरेका हुन् । 'श्रीमान भन्दा राम्रो बनाउने प्रयास गरेको छु,' राम्रो निर्देशकको छबि बनाएका नवलले भने- 'जसरी श्रीमानले मेरो करियरमा महत्वपूर्ण भुमिका खेल्यो त्यसैगरी यो फिल्मले पनि खेल्नेछ ।' यो फिल्मले नवलको मात्र हैन पछिल्लो समयमा अलि सुस्त देखिएका नायक आर्यन सिग्देलको करियरमा पनि महत्वपूर्ण भुमिका खेल्ने बताईन्छ ।
निर्देशक नवलले फिल्मको बारेमा जानकारी दिंदै भने, 'महसुशमा परिवार र युवायुवती बिचको प्रेमको फ्युजनलाई प्रस्तुत गरिएको छ जहाँ प्रेमकथा भित्रका द्धन्दहरू छन् ।' फिल्ममा भौतिक द्धन्द भने नरहेको नवलको भनाई छ । फिल्मलाई कमर्सियल बनाउन भौतिक द्धन्दलाई खासै प्रथमिकता नदिने नवलका अनुसार फिल्मको कथाले दर्शकलाई बाँधे पछि त्यो नै कमर्सियल हुनेछ ।

समयलाई नियन्त्रण गर्न खोज्दा हारभन्दा केही हात नलाग्ने र आफुबाट भुल भएको महशुस हुने बिषयलाई मुख्य थिम बनाएर निर्माण गरिएको फिल्म 'महसुस'मा आर्यन केकी अधिकारी र बेनिशा हमालसँग अनस्क्रिन रोमान्समा प्रस्तुत भएका छन् । यो फिल्ममा दिव्यराज सुवेदीको छायांकन, बद्री लामिछानेको सम्पादन तथा सुरेश अधिकारीको संगीत रहेको छ ।

