नेपाललाई एकिकरण गरेका राजा पृथ्वीनारायण शाहले किर्तिपुर माथी हमला गरेको कथालाई पर्दामा उतार्ने प्रयास गरिएको छ । पहिलो पटक ठूलो पर्दामा निर्देशनको अनुभव लिंदै प्रदीप खड्गीले 'किर्तिपुर' नामक फिल्म निर्माण गरेका हुन् । यो फिल्ममा पृथ्वीनारायण शाहले किर्तिपुर माथी बिजयी प्राप्त गर्नु पूर्वको युद्दको कथालाई उतारेको बताईएको छ ।
गत चैत्र २५ गतेबाट सुटिङ शुरू गरिएको यो फिल्मको हिजो बुधबार अर्थात जेठ २२ गतेका दिन इण्डक्ल्याप गरियो । किर्तिपुर सहित नुवाकोट र गोर्खामा सुटिङ गरिएको यो फिल्ममा यशराज गरचले पृथ्वीनारायण शाहको भुमिका निर्वाह गरेका छन् । 'ऐतिहासिक फिल्म त्यो पनि पृथ्वीनारायण शाहको भुमिका पाउँदा निकै खुसी लागेको छ,' नायक यशराजले भने- 'यो फिल्मले इतिहासलाई पुन: एक पटक ताजा बनाउनेछ ।'
किर्तिपुरको प्वाईन्ट अफ भ्यूबाट सुटिङ गरिएकोले यो फिल्ममा नेपाली र नेवारी दुवै भाषा प्रयोग गरिएको छ । 'थुप्रै सिनहरूमा नेवारी भाषा नै प्रयोग गरिएको छ, 'यशराजले भने- 'पछि त्यसलाई सबटाईटल गर्ने भनिएको छ ।' फिल्ममा यशराजको साथमा हिसिला महर्जन, मनि लावत, मदनदाश श्रेष्ठ, अञ्जला नकर्मी लगायतले अभिनय गरेका छन् । शंकर महर्जनले छायाँकन गरेको यो फिल्मका आर्ट डिरेक्टर के के मानन्धर हुन् ।
फोकस फिक्चर्सको व्यानरमा बिरेन्द्र ताम्राकार र प्रेम खड्गीले निर्माण गरेको यो फिल्म हेरे पश्चात दर्शकले किर्तिपुर युद्दलाई नजिकबाट बुझ्न पाउने निर्माण युनिटले जनाएको छ । पृथ्वीनारायण शाहले किर्तिपुर माथी गरेको हमलालाई दर्शकले नजिकबाट अनुभव गर्न र बुझ्न पाउलान् त ? दर्शकले पक्कै यो फिल्मलाई प्रतिक्षा गर्नेछन् ।

