'अनलाईन फिल्मीखबर अवार्ड (ओफा) २०७०' को अगाडी मिन्स्क थपिएको छ, अर्थात 'मिन्स्क लक्जरी' ओफाको मुख्य प्रायोजकको रूपमा आएको छ । बुधबार फिल्मीखबर मिडिया अध्यक्ष सुमन गैरे र सन्नी डिस्टिलरीको तर्फबाट सन्तोषराज केसीले अवार्डको टाईटल स्पन्सरका लागि सहमती पत्रमा हस्ताक्षर गरे ।
छोटो समयमा नै आफ्नो ब्राण्डलाई बजारमा स्थापित गर्न अग्रसर सन्नी डिस्टिलरीले ओफासँग आगामी संस्करणमा पनि सहकार्य गर्ने भएको छ । 'फिल्म क्षेत्रसँग हामी जोडिन पाउँदा निकै खुसी लागेको छ,' ओफासँग सहकार्यको हात अगाडी बढाएको सन्नी डिस्टिलरीका नेश्नल हेड केसीले भने- 'आउने संस्करणमा पनि हामी ओफासँग सहकार्य गर्न इच्छुक छौं ।' मिन्स्कसँग सहकार्य गर्न पाउनु खुसीको कुरा रहेको फिल्मीखबर मिडियाका अध्यक्ष गैरेले बताए । ओफाका निर्देशक सुरेश दर्पण पोखरेलले फिल्म उधोगको उत्सवको रूपमा मनाउन लागिएको ओफा २०७०मा सहकार्य गरेकोमा सन्नी डिस्टिलरी प्रति आभार प्रकट गरे ।
मिन्स्कसँगै कोरियन ब्राण्ड ब्ल्याक याक ओफासँग सह-प्रायोजकको रूपमा जोडिएको छ । यस्तै ओफा २०७०लाई चलचित्र विकास बोर्ड, चाम्स इन्टरटेन्मेन्ट, एभरेष्ट बैंक, अस्लेशा इन्टरटेन्मेन्ट, युनिक इन्टरनेश्नल, निलिमा फेसन स्टुडियो, परिचय एड्भटाईजिङ, पकेट, डिसिएन, रेड स्टुडियो, आईकोर फिल्म्स, प्रज्ञा फिल्म्स, कविता फिल्म्स, स्टार कस्मेटिक्स, जेएफएक्स थ्रीडी स्टुडियो, मुभमेन्ट डान्स एकेडेमी सहित ढुवानी, सरी ल, प्रमिश, महशुस, आधी बाटो, मोक्ष, वितेका पल जस्ता फिल्म निर्माण कम्पनीले सहयोगीको भुमिका निर्वाह गरेका छन् ।

'मिन्स्क अनलाईन फिल्मीखबर अवार्ड २०७०' यहि जेठ २६ गते दिउँसो २ बजे देखि साँझ ५ बजेसम्म राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुँदैछ । अवार्ड समारोहको एनटिभी प्लस सहित काठमाण्डौबाट रेडियो अडियो, पोखराबाट बिग एफएम, चितवनबाट कालिका एफएम, दमकबाट पाथिभारा एफएम, धरानबाट दन्तकाली एफएम र नेपालगञ्जबाट रेडियो हिमालले प्रत्यक्ष प्रसारण गर्नेछ । नेपालको अग्रणी फिल्मी वेभ पत्रिका फिल्मीखबर डट कमको पाँचौ बार्षिकोत्सवको अवसर पारेर यो अवार्ड गर्न लागिएको हो ।

वर्ष २०६९ साल भरिका फिल्महरु मध्ये जुरी, एसएमएस र सोसल मिडिया भोटिंग मार्फत १३ बिधामा पपुलर अवार्ड वितरण गरिनेछ । अनलाइन फिल्मीखबर अवार्डले नेपाली कलाकारिताको क्षेत्रमा लामो समयसम्म गरेको योगदानलाई कदर गर्दै मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने निर्णय गरेको छ भने कुनै पनि फिल्मको सफलतामा चलचित्र प्रदर्शकहरुको पनि महत्वपूर्ण भूमिका हुने तथ्यलाई हृदयाङ्गम गर्दै एक्जिविटर अवार्ड क्याटोगोरीमा पनि अवार्ड दिने परम्पराको शुरुवात फिल्मीखबर मिडियाले गरेको छ ।

