राष्ट्रिय चलचित्र महोत्सव असफल बनाउन काठमाडौँमा रहेका दुई चार जनाले नियोजित योजना बनाएको चलचित्र बिकाश बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता 'पप्पु'ले आरोप लगाएका छन् ।
धरानमा आयोजना भएको महोत्सवको समापन कार्यक्रममा बोल्दै पप्पुले कार्यक्रमलाई असफल र विध्वंस बनाउन प्रायोजित रुपमा कसैले अनर्गल प्रचार बाजीको खेल रचेको बताए । खेल रच्ने व्यक्ति बारे नबताए पनि त्यस्तो गलत खेल खेल्ने फिल्म क्षेत्रका भाईरसहरूलाई समाप्त पार्नुपर्ने उनले बताए । काठमाडौँबाट आएका अधिकांश कलाकारहरु खुसि भएर फर्केको र आफुलाई कार्यक्रम सफल भएकोमा बधाई समेत दिएको उनको कथन थियो । संचारकर्मीले पनि बरिष्ठ कलाकारको प्रतिक्रिया नलिएर असन्तुस्ट जनाउने सिमित फिल्मकर्मीको कुरालाई ठुलो बनाएकोमा आफु दुखि रहेको पप्पुले बताए ।
बिगतमा ८० लाख र पोहोर साल सुर्खेतमा २५ लाखमा कार्यक्रम गर्दा पनि आवाज उठेको र यो पटक महोत्सवको बजेट १२ लाख भएको र सानो तिनो कमजोरी हुँदा आवाज उठ्नु स्वभाभिक रहेको उनले बताए । आफुले जानी जानी कार्यक्रम अवधिमा फोन आफ नगरेको र पैसा लिएर फरार समेत नभएको उनको भनाई थियो । धेरै फोन आएर चार्ज सकिदा फोन अफ भएको र पैसा लिन धरानमा शाखा नभएकोले इटहरी पुगेको उनले बताए । १२ लाख बजेटमा रहेर कार्यक्रम गर्दा केहि गार्हो भएको तर कार्यक्रम भब्य एवं सफल रहेको पप्पुले दाबी गरे ।
त्यस्तै विकास बोर्डका सदस्य एवं महोत्सवका सह संयोजक निलहरि काफ्लेले महोत्सवमा रमाइलो र मनोरंजन गर्ने सोचले आएकाले नचाईदो हल्ला गरेको आरोप लगाए । केहि कमजोरीको भए पनि कार्यक्रम सफल भएको उनको समेत दाबी थियो । महोत्सव केवल विकास बोर्डको लागि मात्रै भएको र सहकर्मी फिल्मकर्मीहरुले आफ्नो नठानेकोले यस्तो कुराहरु आएको उनको तर्क थियो । काठमाडौँबाट कलाकारलाई बिदा मनाउन भ्रमणमा ल्याएको हैन भन्दै उनले फिल्म क्षेत्रको गुमेको साखलाई बचाउन महोत्सव गरिएको बताए ।

मोफसलमा आउँदा वर्षहरुमा यस्तो महोत्सवको आयोजनालाई निरन्तरता दिरहने र यो पल्ट देखिएको त्रुटीहरु सच्याएर अगाडी बढ्ने काफ्लेले बताए । बिरोध गर्नेहरु काठमाडौँ पुगेपछि कुरा गर्न आए आफुहरु जस्तो स्थितीलाई सामना गर्न तयार रहेको उनले बताए । त्यस्तै महोत्सवको स्थानीय आयोजकको रुपमा रहेको अनाम धरानका अध्यक्ष एवं कार्यक्रमका निर्देशक बिनोद श्रेष्ठले स्थानीय रुपमा कुनैपनि संघ संस्था एवं सरकारी कार्यालयबाट सहयोग नपाएको गुनासो गरे । आर्थिक उपसमिति फितलो बनिदिदा आफुहरुको भागमा परेको १० लाख मध्ये स्थानीय स्तरमा ३४ हजार पाँच सय रुपैया मात्रै उठेको उनले जानकरी गराए ।
होटेल लगायत अन्य खर्चमा करिब ७ लाख तिर्न बाँकी रहेको बताउदै मनग्य पैसा आएर कार्यक्रम नभएको श्रेष्ठको गुनासो थियो । धरान नगरपालिकासंग सहयोग माग्दा सुरुमा २५ हजार मात्रै दिंदा आफुहरुले लिन नमानेको र बल्ल तल्ल १ लाख दिने भएको र त्यसको लागि पनि अर्को आर्थिक वर्ष सम्म कुर्ने पर्ने भएको उनले बताए । कलाकारलाई राष्ट्रको गहन भनिए पनि स्थानीय तवरबाट गहना फुकाल्ने काम भएको उनको कथन थियो । सिमित स्रोत साधनले भए पनि कार्यक्रम मार्फत एकै मंचमा पुराना देखि नयाँ कलाकारलाई प्रस्तुत गर्न पाउदा र कार्यक्रमको स्थानीय आयोजक भएको नाताले खुसि लागेको उनको तर्क थियो ।
समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका निर्देशक एवं भुतपुर्व बोर्डका अध्यक्ष शैलेश आचार्यले समेत जसले जस्तो प्रचार गरेपनि धरानको कार्यक्रम सफल रहेको बताए । कसैले खान पायो पाएन, कसैले सुत्न पायो पाएन भनेर महोत्सव असफल भएको मान्न जायज नहुने उनको तर्क थियो । मन्तब्यको क्रममा उनी आक्रोसित रुपमा प्रस्तुत भएका थिए । समापन कार्यक्रममा महोत्सवलाई सहयोग गर्ने विभिन्न संस्था, व्यक्ति, स्वयं सेवक, उपसमिति सदस्यहरुलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । महोत्सवको अन्तिम दिन सिमबार हलमा शिरिषको फुल प्रदर्शन गरियो भने फिल्म निर्माण सम्बन्धि दुई दिने गोष्ठीको समेत समापन गरियो । ३० जनाको सहभागिता रहेको गोष्ठीको अनुप सुबेदीले सहजीकरण गरेका थिए ।
यसरी विभिन्न विवाद, आरोप प्रत्यारोप, कमिकमजोरी सहित मोफसलमा दोस्रो पटक आयोजना भएको राष्ट्रिय चलचित्र महोत्सव सकिएको छ । ठुलो जमातमा यसको बिरोध भैरहेकोले आउँदो दिनमा बोर्डले अन्य कार्यक्रम गर्दा फिल्मकर्मीको कस्तो साथ् पाउने हो त्यो भने चासोको बिषय बनेको छ । महोत्सवले समग्र धरानलाई के दियो ? र, मोफसल र केन्द्र बीचको दुरी हटाउने उद्देश्य रखिएको महोत्सव सफल भयो कि असफल ? यसको बिश्लेषण भै नै रहने छ ।
महोत्सवको समापन पछि पप्पु र निलहरिसंग हामीले लिएको प्रतिक्रिया सुन्नुहोस्

