ग्रुप वान क्रियशनको व्यानरमा पहिलो पटक नेपाली र बंगालीको लगानीमा 'क्रेजी लभर' नामक फिल्म बन्ने भएको छ । कतारमा ८० प्रतिशत र नेपालमा २० प्रतिशत छायांकन हुने भनिएको उक्त फिल्मको छायाँकन जुलाईको पहिलो हप्तामा कतारबाट नै सुरु गर्ने निर्माण पक्षले जनाएको छ ।
नेपाली र बंगाली दुबै भाषाको प्रयोग गरिने उक्त फिल्मको प्रदर्शनीको समयमा देश अनुसारको सबटाईटल र डबिङ गरिने बताईएको छ । अन्तराष्ट्रिय बजारमा नेपाली फिल्मको माग बढी रहेको समयमा अन्तराष्ट्रिय मुलुकहरुमा नै छायांकन र प्रदर्शन गर्न सके नेपाली फिल्मलाई केहि हदसम्म भए पनि सहयोग पुग्ने आशाका साथ 'क्रेजी लभर' बनाउन लागेको प्रस्तुतकर्ता नरेन्द्र सेन ठकुरीले बताए ।

फिल्ममा नेपाली, बंगाली र अन्य देशका पनि कलाकार हुनेछन् भने केहि कलाकार र प्राबिधिक नेपालबाट कतार आउनेछन् । विदेशमा नै बसेर पनि नेपाली फिल्ममा अभिनय गर्न पाउदा आफु निक्कै उतासहित र प्रफुल्ल भएको नायक बिष्णु कार्कीले बताए । एक देशको मानिस अर्को देशमा गएर बस्दा त्यहाँको भाषा, संस्कृति, रहनसहन नमिल्दा पनि कसरी मायामा पर्न सक्छन् भन्ने बिषयलाई मुख्य केन्द्रबिन्दु बनाईएको निर्देशक भबिन्द्र तामाङले बताए ।
अन्तराष्ट्रिय कलाकार मंच, कतारको बिशेष सहयोग रहने 'क्रेजी लभर'को निर्माता मोहमद फाहद रहेका छन् । उक्त फिल्मका प्रमुख पात्रहरुमा कतारमै रहेका नायक बिष्णु कार्की, नायिका सोभिता सिम्खडा, भानु शर्मा, बंगाली नायक मोहमद फाहद, मोहमद ममुन रहेका छन् । यस्तै नेपालबाट एक जना नायिका कतार ल्याइने समेत बताईएको छ ।

