बर्दिया जिल्लाको बेलवा गाविसका आगलागि पिडितहरूको सहयोगार्थका लागि शनिबार 'नाच्नै पर्यो नी' नामक डान्स पार्टीको आयोजना भयो । प्यासन इन्टरटेन्मेन्ट र युकेमा नेपाली फिल्मको प्रदर्शन, वितरण तथा निर्माणका लागि स्थापना गरिएको लामिस प्रोडक्सनले संयुक्त रूपमा आयोजना गरेको सो पार्टीबाट संकलित रकम बर्दियाका आगलागि पिडितलाई दिईनेछ ।
उक्त कार्यक्रमबाट संकलन भएको रकम प्रदान गर्न महानायक राजेश हमाल बर्दिया जाने चासो देखाएका छन् । आयोजक मध्येका एक आरूष गुरूङले भने- 'दाङमा कार्यक्रम परेकाले हाम्रो डान्स पार्टीमा राजेश दाईले उपस्थित जनाउन नसकेपनि उहाँले बर्दिया नै पुगेर पीडितलाई संकलित रकम दिने आश्वासन हामीलाई दिनुभएको छ ।' राजेशले सामाजिक कार्यमा साथ दिने भएपछि आयोजक पनि दंग छ । 'उहाँको सपोर्ट पाउनु हाम्रो लागि निकै खुसीको कुरा हो,' गुरूङले भने ।
दरवारमार्गमा अवस्थित सिड्ब्लू रेष्टुरेन्टमा दिउँसो करिब २ बजेबाट शुरू भएको सो कार्यक्रममा ‘वेष्ट डिजेज्’, ‘बि-बोईङ्’, ‘डान्स पर्फमेन्स’, ‘फुड स्टल एण्ड बार’, ‘लाईभ म्यूजिक पर्फमेन्स’ जस्ता आकर्षण थिए । यस्तै कार्यक्रमलाई शोभा बढाईदिन प्रदर्शनको क्रममा रहेको फिल्म 'होस्टेल'का कलाकारहरूले पनि साथ दिएका थिए ।

