कुनै बेला पानी बाराबारको अवस्थामा पुगेका फाईटमास्टरद्धय एनबी महर्जन र हिमाल केसी अहिले एकसाथ एउटै फिल्ममा काम गरेका छन् । ३६को आँकडामा रहेका महर्जन र केसी अहिले मिल्ने साथी भएका छन् ।
एनबीले निर्देशन गरेको फिल्म 'सकस'मा हिमालले फाईट डाईरेक्सन गरेका छन् । 'फिल्म क्षेत्रमा को दुष्मन को साथी ?,' हिमालले भने- 'एउटै परिवारा बस्दा त ठाकठुक परिहाल्छ नि । उहाँले काम गर्न अनुरोध गर्नु भयो अनि मैले स्विकारें ।' आफ्नै गुरू एनबीसँग बिचमा केहि कारणले मनमुटाव भएपनि अहिले भने पुन: गुरूचेलाकै सम्बन्ध रहेको हिमाल बताउँछन् ।
'मेरो फिल्ममा हिमालको काम राम्रो हुने देखेर लिएको हो र हाम्रो सम्बन्ध राम्रो छ,' एनबीले भने- 'सम्बन्ध खासै बिग्रेको हैन केहि सानोतिनो मनमुटाव मात्र थियो अहिले त्यस्तो नराम्रो केहि छैन ।' हिमालको कामबाट प्रभावित भएका एनबी भन्छन्- 'हिमालको काम मलाई राम्रो लाग्छ र मेरो फिल्ममा उसकै काम फिट हुने भएर पनि यसपटक उसँग काम गरेको हुँ ।'
बेरोजगारीको समस्याले मानिस कसरी गलत बाटोमा लाग्छ भन्ने बिषयमा केन्द्रित रहेर निर्माण गरिएको यो फिल्मको ९५ प्रतिशत सुटिङ सकिएको छ । 'दुई वटा गीतको सुटिङ सकेर प्याकअप हुन्छ,' एनबीले भने । रोज पिक्चर्सको व्यानरमा अक्कल सिंहले निर्माण गरेको यो फिल्ममा विल्सन विक्रम राई, सुष्मा कार्की, सुन्दर श्रेष्ठ, श्याम राई, सुशिल पोखरेल लगायतले अभिनय गरेका छन् । चेतन सापकोटाको संगीत रहेको यो फिल्मलाई कृष्ण श्रेष्ठले खिचेका छन् ।

