Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपथ्य ब्याण्ड र फिल्मको ट्विटर घम्साघम्सी

फिल्मीखबर, काठमाण्डौ, 2013/05/28
जेठ २४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने क्रममा रहेको फिल्म ‘नेपथ्य’को अहिले निकै चर्चामा रहेको फिल्म हो । पछिल्लो समय केहि आशलाग्दो फिल्महरुले व्यापारमा उत्साह नदेखाएपछि नेपथ्यले भने फिल्म उद्योगलाई व्यापारमा केहि राहत दिन सक्ने फिल्मी पण्डितहरु बताउँछन् ।
 
दिनानुदिनको मिडिया हाईपका कारण अगाडी आईरहेको 'नेपथ्य' फिल्म नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’संगै मिल्दो नाम रहेकोले यो फिल्मको बारेमा अहिले ब्याण्ड मेम्बरहरुलाई स्पष्टिकरण दिँदा दिँदा ब्याण्डका भोकलिस्ट अमृत गुरुङ लगभग थाकिसकेका छन् । त्यसैले उनले सबैलाई एकमुस्ट रुपमा सामाजिक संजाल ट्विटरबाट स्पष्टिकरण दिएका छन् । उनले ट्विटेका छन्– ‘नेपथ्य नामको फिल्म बनेको रहेछ । धेरैले सोधे । हाम्रो भने त्यसमा कुनै सम्बन्ध नरहेको व्यहोरा निवेदन छ ।’
 
यो सब त ठिकै भयो तर उनले नेपाली फिल्म नेपथ्यको टिमलाई एउटा आरोप समेत लगाएका छन् । भनेका छन्–‘नाम प्रयोग गरेपनि फन्ट/लोगो चाँहि मिल्दो नराखेको भए बेस हुन्थ्यो । जे भएपनि फिल्मलाई शुभकामना ।’ उनले यति भनिसकेपछि भने नेपथ्य फिल्मको डिजाईनर आनन्द महर्जनले उनको ट्विटलाई स्पष्टिकरण दिँदै ट्विटेका छन्–‘नेपथ्य ब्याण्डका भोकलिस्ट अमृत गुरुङका अनुसार नेपथ्य फिल्मको लोगो ब्याण्डको लोगोसंग मिल्यो रे ! कुन एंगलमा मिलेको छ ?’
 
आनन्दले अझै थप ट्विटेका छन्–‘हाम्रो फिल्मको लोगो व्याण्डको लोगो भन्दा नितान्त फरक छ ।’ आनन्दले यति ट्विटेपछि भने नेपथ्य ब्याण्डका भोकलिस्ट अमृतले पुनः आफ्नो ट्विटर पेजमा यसरी लेखे–‘मैले लोगो दुरुस्तै छ भनेको होईन तर भाव एउटै खाले छ । यद्यपी म गलत पनि हुन सक्छु ।’ ट्विटरमा नेपथ्य ब्याण्डका भोकलिस्ट र नेपथ्य फिल्मका डिजाईनर बिच भएको घम्साघम्सीमा धेरैले कमेन्ट गरेका छन् । कसैले ‘लोगो साँच्चै मिलेको’ भनेका छन् भने कसैले ‘नेपथ्य नाम कसैको एकलौटी नाम नभएको र लोगोको डिजाईन कुनैपनि एंगलबाट नमिलेको’ भन्ने प्रतिक्रिया दिएका छन् ।
 
 
यो फिल्मका निर्माता तथा निर्देशक रामराजा दाहालले भने आफुले नेपथ्य ब्याण्डसंग दुश्मनी गर्नका लागी फिल्मको नाम ‘नेपथ्य’ नराखेको स्पष्ट पारेका छन् । उनले भने–‘हाम्रो फिल्मको स्टोरी अनुसार नेपथ्य शब्द उपयुक्त राख्यौँ र हामीले त्यहि नाम राख्यौँ ।’ लोगोको हकमा पनि नेपथ्य ब्याण्ड र फिल्मको लोगो नितान्त भिन्न भएको उनले बताए । 
 
नेपथ्य फिल्म अहिले विशेष गरि प्रोमो र गीतहरुका कारण प्रदर्शन अगावै चर्चामा आईसकेको छ । फिल्ममा विल्शनविक्रम राई, आदित्य बुढाथोकी, रेम बिक, मानव सुवेदी, सोना तिमिल्सिना, रवी गिरी, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । शुभाससिंह बस्न्यातको लेखन रहेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् ।