यहि १८,१९ र २० गते धरानमा हुन गैरहेको राष्ट्रिय चलचित्र महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । १८ गते धरानको डिपोट स्कुलको प्रांगणमा हुने उद्घाटन कार्यक्रम भब्य बनाउन आयोजक चलचित्र विकास बोर्ड र स्थानीय आयोजक अनाम यतिबेला अनितम तयारीमा जुटेको छ । करिब १५० जनाको टोलि शुक्रबार बेलुका सम्म काठमाडौँबाट धरान आइपुग्ने छ ।
यस्तै महोत्सवको कार्यक्रम अन्तर्गत नै रहेको चित्रकला प्रतियोगिता आज सम्पन्न भएको छ । फिल्मको पोस्टर बनाउने थिममा रहेर धरानका १७ बिद्यालयका ७७ जनाले सो प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगीलाई डेढ घण्टाको समय दिएर चित्र बनाउन लगाईएको थियो । महोत्सव बारे प्रचार होस् भनेर प्रतियोगिता खुल्ला रुपमा सडकमा आयोजना गरिएको थियो ।
प्रतियोगिताको बिजेताको घोषणा भने १९ गते एक कार्यक्रमका बीच गरिने प्रतियोगिताका संयोजक स्वयम् प्रकाश श्रेष्ठले जानकारी गराए । सोहि कार्यक्रममा केहि दिन अगाडी सम्पन्न भएको निबन्ध प्रतियोगिताको बिजेतालाई पनि पुरस्कृत गरिने छ । निबन्ध प्रतियोगितामा ३०० जनाले सहभागिता जनाएका थिए जसमध्ये छानिएका १०० जनाले भोलि आफुले लेखेको निबन्ध बाचन गर्ने कार्यक्रम राखिएको छ ।
महोत्सवकै कार्यक्रम अन्तर्गत बिहिबार धरान नगर सफाई गरिने छ भने उद्घाटनका दिन कलाकार सहितको बृहत झाँकिले नगर परिक्रमा गर्ने छ । यस्तै महोत्सवलाई आकर्षक बनाउन अहिले काठमाण्डौमा एक दर्जन कलाकारहरूले डान्सको रिहर्सल गरिरहेका छन् । शंकर बिसीको करियोग्राफीमा नीता ढुंगाना, सुमिना घिमिरे, अशिष्मा नकर्मी, गजित बिष्ट, एशराज गरच, पूजना प्रधान, अनु शाह लगायतका कलाकारहरूले बिभिन्न किसिमका गीतमा रिहर्सल गरिरहेका छन् । कलाकारहरूको को-अर्डिनेशन सञ्चारकर्मी प्रकाश सुवेदीले गरेका छन् ।

