संसारभर अहिले 'ग्याङ्गम स्टाईल'ले संगीत बजार तताईरहेको छ । डिस्को होस् या पार्टी जहाँ गयो त्यहिं नै 'ग्याङ्गम स्टाईल'मा झुमेको पाईन्छ । यहि 'ग्याङ्गम स्टाईल'को संगीतमा निर्देशक राजेन्द्र खड्गीले नेवारी शब्द राखेर 'ग्याम्पो स्टाईल'को भिडियो तयार पारेका छन् जहाँ खड्गी स्वयं नै मुख्य भुमिकामा देखिएका छन् ।
निकै रोमान्टिक तरिकाले तयार पारिएको यो 'ग्याम्पो स्टाइल'को भिडियो राजेन्द्रले आफैले निर्देशन गरेको फिल्म 'नथिङ इम्पोसिबल'मा राखेका छन् । उक्त गीतमा राजेन्द्रको साथमा उनकै नाति आर्यन खड्गी सहित थुप्रै सेलिब्रेटीले 'ग्याम्पो स्टाइल'मा डान्स गरेका छन् । 'ग्याङ्गम स्टाईल'को चर्चालाई क्यास गर्न खोजेका खड्गीको यो 'ग्याम्पो स्टाईल'ले कत्तिको चर्चा पाउँछ हेर्न बाँकि छ ।
असार २८ गते रिलिज मिति तय गरिएको फिल्म 'नथिङ इम्पोसिबल'मा राजेन्द्रले आफ्नै परिवारका सदस्यलाई फिल्ममा मुख्य भुमिका दिएका छन् । फिल्मका उनै कान्छी छोरी रोमी र नाति आर्यन (रागिनी खड्गीको छोरा) मुख्य भुमिकामा छन् । बिशेषत: ८ बर्षिय बालक आर्यन नै यो फिल्ममा मुख्य नायक हुन् । फिल्मको कथा पनि यिनै बालकको रियल लाईफसँग केहि हदसम्म मिल्ने निर्देशक खड्गीले बताएका छन् ।
आईतवार राजधानीमा एक समारोहका विच फिल्मको पोस्टर, गीत तथा प्रोमो सार्वजनिक कार्यक्रममा यिनै बाल नायक आर्यनले साईकल स्टण्ड देखाए । फिल्ममा पनि उनले थुप्रै स्टण्टहरू दिएका छन् । 'फाईट मास्टरको नातिले यति त गर्नै पर्यो नि,' राजेन्द्रले नातिले देखाएको स्टण्ट हेरेर दंग पर्दै भने- 'उसले फिल्ममा धेरै नै रियल स्टण्ट दिएको छ ।' फिल्ममा कुशल थापाको पनि मुख्य अभिनय रहेको छ भने रागिनीलाई बिशेष भुमिकामा देख्न सकिनेछ ।




