आईतवार बिहानै देखि नायक आर्यन सिग्देल केहि गुण्डाहरूको झमेलामा परिसकेका थिए । दिउँसो तिर भने आर्यन ति गुण्डाहरूको रामधुलाईमा परे । आखिरमा हिरो न हो, आर्यन पनि के कम ? सलमान खानका फ्यान आर्यनले सलमानकै स्टाईलमा आफूलाई कुट्ने सबै गुन्डाहरूलाई एकएक गरेर तह लगाए ।
फिल्म निर्माणमा आफ्नो छुट्टै पहिचान बनाएका निर्माता छबिराज ओझाले निर्माण गरिरहेको फिल्म 'लोफर'को अहिले काठमाण्डौको बिभिन्न स्थानहरूमा धमाधम सुटिङ भईरहेको छ । आईतवार भने काठमाण्डौको नारायणथान स्थित मह स्टुडियोमा फाईड डिरेक्टर चन्द्र पन्तले आर्यनको एक्सन सिनमा एक्सन कट भनिरहेका थिए ।

झण्डै ७५ प्रतिशत सुटिङ सकिएको बताईएको एक्सन कमेडी फिल्म लोफरलाई डेब्यू गर्दै आदित्य बिक्रम लम्सालले निर्देशन गरिरहेका छन् । आगामी दशैंको अवसर पारेर असोज २५ गते फुलपातीका दिन रिलिज मिति तय गरिएको यो फिल्ममा आर्यनको साथमा दयाहाङ राई, सुशिल राज पाण्डे, कमलमणी नेपाल, अनुपम शर्मा, सागर लम्साल र नवप्रस्तुतीको रूपमा रजनी केसीको मुख्य भुमिका रहेको छ । सोनाल सापकोटाको संगीत रहेको यो फिल्मलाई मदनकास्यप घिमिरेले खिचिरहेका छन् ।

सुटिङको फाईट सिन सकेर निर्देशक लम्सालले सम्पूर्ण युनिटमाझ आफ्नो २८ औं जन्मदिन मनाए । उपस्थित सबै फिल्मकर्मीले निर्देशकको सफलताको कामना गरे भने छबिले आफ्नो निर्देशकको बखान गरे । उनले आदित्यको कामबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।

