रोजगारीको क्रममा इराक गएका १२ नेपाली को हत्या गरिएको घटनालाई लिएर निर्माण भैरहेको फिल्म १२ नेपाली एक चिहानको यतिबेला पुर्वका विभिन्न ठाउँमा छायांकन भैरहेको छ । काठमाडौँमा मुहुर्त गरेर छायांकनको लागि सिधै पुर्व आएको फिल्मको करिब २० प्रतिसत छायांकन सकिएको निर्देशक अरुण प्रधानले जानकारी गराए । पुर्वमा रहेर लामो समय देखि विभिन्न स्थानीय फिल्म, म्युजिक भिडियो, टेलिफिल्म निर्माण गरेका अरुण आफ्नो लामो अनुभवलाई लिएर फिल्म निर्माणमा जुटेका हुन् ।
धनकुटाको राजारानीमा केहि दृश्यको छायांकन पश्चात फिल्मको यतिबेला धरानमा छायांकन भैरहेको छ । धरानको विजयपुरमा इराकमा हत्या भएका लम्जुङका विष्णुहरिको भूमिकामा प्रस्तुत भएका रंगकर्मी राजन खतिवडा अनि काल्पनिक प्रेमिकाको रुपमा प्रस्तुत भएकी अनुषा गौतमको प्रेमलापको दृश्य खिचिएको थियो । त्यस्तै जोर्डनमा नेपालीले पाएको दु:खको दृश्य भने एक होटलमा सेट लगाएर खिचिएको थियो । बढी खर्च हुने भएकोले फिल्मका केहि दृश्य मात्रै वास्तविक लोकेसनमा खिचिने निर्देशक प्रधानले जानकारी गराए ।
फिल्मको धरान पछि इनरवा, जनकपुर, जोर्डन लगायतका स्थानमा छायांकन गरिने छ । हत्या भएका १२ नेपाली युवाको भूमिकामा राजन खतिवडा, रबिन्द्र झा, जतिन ताम्राकार, उतमजंग लिम्बु, बिक्रम सिंह, रामभजन कामत, सुशील थापा मगर, घनश्याम मिश्र, निराजन मेहता, सोनु जयन्ति, प्रजा प्रधान र मिलन श्रेष्ठ रहेका छन् । फिल्ममा उमा कार्की, सुबाश थापा, बिशाल भण्डारी, बबिता लिम्बु लगायतको समेत अभिनय रहेको छ ।
संगीता प्रधान निर्माता रहेको फिल्ममा रबिन श्रेष्ठ, भाईसन बर्देवा र रबिन राईको समेत लगानी रहेको छ । शेर बहादुर लामाले खिचिरहेको फिल्मका मुख्य सहायक निर्देशकको रुपमा बसन्त अधिकारी रहेका छन् । हत्या गरिएका १२ युवाको घरमै पुगेर अनुसन्धान गरि फिल्मको कथा तयार पारिएको निर्देशक प्रधानले बताए ।

