राम्रो फिल्म बनाउँदा पनि नचलेपछि 'अन्तराल' निर्देशक दीपा बस्नेतले फिल्ममा भविष्य खोज्नु बेकार रहेको प्रतिक्रिया दिईन् । 'यो घिनलाग्दो फिल्मी राजनीतिमा बसेर भविष्य खोज्नु मुर्खता नै हो जस्तो लाग्यो ।'
अन्तरालको रिजल्ट आएपश्चात निराश हुँदै दीपाले भनिन्- 'म नाङ्गो नाच राखेर फिल्म बनाउन सक्दिन तर दर्शकलाई यस्तै फिल्म मनपर्ने रहेछ । अब फिल्म बनाईहाले भनें नेपालका दर्शकको लागि बनाउँदिन ।' यस्तै दीपाले दर्शक हलसम्म किन आएनन् भन्ने बिषयमा बहस गर्न जरूरी रहेको बताईन् । 'जबसम्म नेपालका हलमा दर्शक आउने वातावरण बन्दैन तबसम्म नेपालका दर्शक लागि फिल्म बनाएर भविष्यलाई ओझेलमा पार्न चाहन्न,' दीपाले भनिन् ।
यता अन्तरालका निर्माता जीवनसाथी बस्नेतले अब आईन्दा फिल्म निर्माण नगर्ने बताएका छन् । 'शत प्रतिशत हारको जुवा खेलेर म जोखिम मोल्दिन,' अन्तराल फिल्मबाट निराश देखिएका जीवनसाथीले भने- 'फिल्म बनाएर फाईदा हुने अवस्था कुनै दिन आयो भने सोचौंला अहिलेलाई फिल्म निर्माणबाट सन्यास नै लिएँ ।'
फिल्म हलवालासँग पहिलो गुनासो गर्दै निर्माता जीवनसाथीले सबैभन्दा ठूलो गुनासो दर्शकसँग गरे । 'जसको लागि फिल्म बनायौ उसले नै हेर्ने चासो नदेखाएपछि कस्को लागि फिल्म बनाउनु त ?,' जीवनले भने- 'सञ्चारमाध्यम देखि हेरेका दर्शक सबैले राम्रो भन्दापनि फिल्म चल्दैन भने दोष कस्लाई दिने त ?' यस्तै हलवालाको मोनोपोलीले गर्दा पनि फिल्मको व्यवसाय धरासायी हुन पुगेको उनको ठम्याई छ ।

'फिल्ममा लगानी गर्नु मुर्खता नै रहेछ,' अन्तरालबाट पोस्टर छापेको पैसा पनि उठ्न गार्हो हुने देखेपछि बस्नेतले भने- 'न यहाँ फिल्म चल्न दिईन्छ न चल्छ । म मात्र हैन कुनैपनि निर्मातालाई फिल्ममा लगानी नगर्न सुझाव दिन्छु म ।' यस्तै आफ्नै व्यानरमा निर्माण भएर प्रदर्शन हुन लागेको अर्को फिल्म 'वनफूल'लाई नेपालमा रिलिज नगर्ने जीवनसाथीले बताए । 'यो फिल्म अब जति सक्छु बिदेशमा नै रिलिज गर्छु तर नेपालमा रिलिज गर्दिन ।'

