पछिल्लो समयमा नेपाली फिल्मले सायदै ५१ औ दिन मनाउन गाह्रो छ तर गत बर्षको शायद ,लूट र चपली हाइट पछी केही समय अघि प्रदर्शनमा आएको फिल्म रिदमले ७५ औं दिन मनायो । रिदम हिट भयो तर यसै फिल्ममा अभिनय गरेकी स्वेता भट्टराई भने सोचे अनुरूपले हिट हुन सकिनन् । उनी रिदमको सफलतासँगै केही सयमयता गुमनाम जस्तै छिन् ।
आफ्नो पढाइलाई निरन्तरता दिने भन्दै नेपाली फिल्म ‘प्रोड्युसर’को डबिङ सकेपछि गृहनगर पोखरातिर हानिएकी श्वेताले अझै केही समय गुमनामै बस्ने छाँट देखाएकी छन् । फिल्म व्ल्याक मेलबाट यस क्षेत्रमा परिचित बनेकी श्वेताले भनिन्- ‘राम्रो ब्यानर र कथावस्तु नपाएसम्म अभिनय गर्दिन ।' उनले आफू हराएको भन्ने कुरालाई भने नकारेकी छन् । ‘म हराएकी छैन, केही दिन अघिमात्र काठमाडौं आएर फर्केकी हुँ,’ पोखराबाट उनले भनिन्- ‘काम परेमा अहिले पनि आउन सक्छु ।’
श्वेता एक्कासी गुमनाम भएपछि उनको विषयमा अनेक चर्चा चल्न थालेको छ । यसैबेला श्वेताले भनेजस्तो विषयवस्तु र ब्यानर नपाएकाले काम नगरी बसेको बताएकी हुन् । ‘मैले आफ्नो पढाइलाई निरन्तरता दिनुछ,’ स्नातक तहमा अध्ययनरत श्वेताले भनिन्- ‘आफूलाई हरेक क्षेत्रमा आफूलाई ‘पर्फेक्ट’ बनाउनलाई पनि केही समयका लागि अभिनयबाट टाढा भएकी हुँ ।’ तर उनले भनेजस्तो व्यानरको फिल्ममा अफर आए तुरुन्त काठमाडौं पर्किने श्वेताले बताइन् । ‘सकेसम्म राम्रै व्यानरमा काम गरौं भन्ने मेरो सोच हो’, उनले भनिन्- ‘जस्तोसुकै फिल्ममा काम गरेर फाइदा छैनजस्तो लाग्यो ।’
हुनत श्वेताको भाग्य नै भन्नुपर्छ, उनी अभिनित फिल्म ‘रिदम’ले पछिल्लो समय प्रदर्शनमा नयाँ रेर्कड राख्न सफल भएको छ । यस्तै उनको पछिल्लो फिल्म ‘प्रोड्युसर’ले पनि यतिखेर चर्चा पाइरहेको छ । नेपाली फिल्म क्षेत्रकै विषयवस्तुमा आधारित रहेर निर्माण गरिएको ‘प्रोड्युसर’बाट पनि श्वेता आशावादी छिन् । ‘रिदमबाट मैले सोचेभन्दा राम्रो प्रतिक्रिया पाएँ,’ श्वेताले भनिन्- ‘त्यस्तै प्रोड्युसरबाट पनि अपेक्षा गरेकी छु । प्रोड्युसर फिल्म क्षेत्रकै विषयवस्तु भएकाले पनि राम्रो बनेको छ ।’
‘प्रोड्युसर’मा श्वेताको आइटम नम्बर समेत हेर्न पाइने छ । तर श्वेताले भने आइटम नम्बर नभएर ‘प्रोड्युसर’मा चलनचल्तीकै डान्स गरेको बताइन् । ‘प्रोड्युसर मनोरञ्जनपूर्ण फिल्म हो,’ उनले भनिन्- ‘त्यसैले पनि दर्शकले रुचाउँने छन् भन्ने मलाई लागेको छ ।’ श्वेता बेखबर भएपछि फिल्म ‘रिदम’का निर्माता/निर्देशकले समेत प्रचार–प्रसारमा समय नदिएको भन्दै गुनासो गरेका थिए । त्यस्तै प्रदर्शनमा तयारीमा रहेको ‘प्रोड्युसर’को प्रचारमा समेत श्वेताले समय नदिने हो कि भन्ने निर्मातामा आशंका उब्जेको छ । तर श्वेताले भने सकेसम्म समय दिने बताएकी छन् । ‘आफूले काम गरेको फिल्मको प्रचारका लागि समय नदिने कुरै भएन,’ उनले भनिन्- ‘त्यसैले प्रोड्युसरलाई भ्याएसम्म समय दिनेछु । प्रोड्युसर मेरो करिअरका लागि महत्वपूर्ण छ ।’
राजकुमार राईको निर्माण र ज्योतिराज राईको प्रस्तुति रहेको ‘प्रोड्युसर’ विदेशबाट प्रिमियर हुने तयारीमा छ । प्रस्तुतकर्ता ज्योतिराजका अनुसार ‘प्रोड्युसर’ एकसाथ दुबई, कतार, मलेसिया, हङकङ, सिंगापूर, साउदी अरब, युकेलगायतका मुलुकमा प्रिमियर हुँदैछ । विदेशमा प्रिमियर गरिसकेपछि मात्र नेपालमा प्रदर्शन गर्ने ज्योतिराजले बताए । उनले भने, ‘नेपालमा पनि हामी पहिले सुदरपश्चिम र पूर्वका जिल्लामा च्यारिटी शो गर्नेछौं । त्यसपछि मात्र अलनेपाल प्रदर्शन गर्ने सोच छ ।’

