कुशल अभिनेताको रूपमा चिनिने भूपेन चन्दलाई दर्शकहरूले 'कात्तिक' फिल्ममा शिर्ष भुमिकामा देख्न पाउने भएका छन् । भुपेनसँगै फिल्ममा अनु शाह, आकाश मगर र सुरविना कार्कीको पनि मुख्य भुमिका रहने छ ।
थुप्रै म्युजिक भिडियोको सम्पादन सहित निर्देशन र एनिमेशनमा आफ्नो अनुभव संगालेका कुमार शाहले फिल्मको निर्देशन गर्दैछन् । फिल्मको शुक्रबार बिहान कमलादी स्थित गणेश मन्दिरमा मुहुर्त गरियो । निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले क्ल्याप हानेपछि फिल्म निर्माण टिमले 'कात्तिक कात्तिक...' भन्दै चिच्च्याए । निर्माता संघका अध्यक्ष राजकुमार राईले नरिवल फोडेर फिल्मको मुहुर्त सट पूरा गरियो ।
सिल्फ फिल्मस्को ब्यानरमा शिवकुमार श्रेष्ठले निर्माण गर्ने एक्सन प्रधान यो फिल्ममा कालीप्रसाद बाँस्कोटाको संगीत, रामेश्वर कार्कीको छायांकन, राजकुमार उप्रेतीको द्धन्दनिर्देशन तथा सृजन बरालको नृत्यनिर्देशन रहनेछ । फिल्मको सम्पूर्ण सुटिङ चितवनको माडीमामा गरिने छ । सुटिङ्को शुरूवात आउँदो सोमबारबाट हुने निर्देशक शाहले बताए ।


