यहि मे महिनाको २६ देखि ३१ तारिखसम्म श्रीलंकाको कोलम्बोमा हुन लागेको सार्क फिल्म फेस्टिभलमा नेपालको तर्फबाट २ सर्ट फिल्म र २ फिचर फिल्मले सहभागिता जनाउँदैछन् । फिचर फिल्ममा ७५ मिनेट लामो ‘स्विकार’ र ८८ मिनेट लामो ‘बोक्सी’ साथै डकुमेण्ट्री फिल्ममा ‘वेकअप’ र ‘कागज’ स्क्रिनिङ् हुने छन्।
‘वेकअप’ र ‘कागज’ २७ मई, सोमवार बिहान १० बजे साथै ‘स्विकार’ २९ मई, बुधवार दिउसो ३:३० बजे र ‘बोक्सी’ ३ मई, बिहिबार साँझ ६:३० बजे स्क्रिनिङ् हुनेछ। समाजमा ब्याप्त जातिय बिभेदमा आधारित फिचर फिल्म स्विकारलाई रविराज अर्यालले निर्देशन गरेका हुन् भने रेश मरहठ्ठा, अमेरिकी कलाकार कार्ला, राजेश ढुंगाना लगायतले फिल्ममा अभिनय गरेका छन् । निर्देशक अर्याल उक्त फेस्टिभलमा सहभागी हुन श्रीलंका प्रस्थान गर्दैछन् ।
सामाजिक कुरितीमा आधारित रहेर निर्माण गरिएको फिल्म 'बोक्सी'लाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् । राज आचार्य, शुभेच्छा थापा, शंकर लामिछाने लगायतका कलाकारहरुको अभिनय रहेको यो फिल्मलाई पपुलर मल्टिमिडियाको व्यानरमा शक्तिबल्लभ घोरासैनीले निर्माण गरेका हुन् । नेपालमा थुप्रै स्थानमा च्यारिटी गरिएको यो फिल्मको सार्वजनिक प्रदर्शन भने हुन बाँकि नै छ ।
त्यस्तै, ब्यानर माउण्टेन रिभर्स फिल्मसको ब्यानरमा बनेको ‘वेकअप’लाई उत्पल झाले निर्देशन गरेका हुन् भने नेपालज मोस्ट डिजारएबल फिल्मसको ब्यानरमा बनेको ‘कागज' लाई निलुडोमा शेर्पाले निर्देशन गरेकी हुन् ।


