चर्चित हाँस्य टेलिफिल्म 'तितो सत्य'मा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको छोरो बनेर अभिनय गरेका कलाकार राज आचार्यले नायकको रूपमा 'लभ फरेभर' मार्फत डेब्यू गरेका छन् ।
कुशल कलाकार शंकर आचार्यले आफ्नै निर्देशनमा छोरा राजलाई नायकको रूपमा डेब्यू गराएका हुन् । यहि असार १४ गते रिलिज हुन लागेको यो फिल्ममा राजले गजित बिष्ट र सुमिना घिमिरेको को-एक्टरको रूपमा अभिनय गरेका छन् । १८ बर्ष नपुग्दै फिल्मको मुख्य भुमिकामा देखिएका राजलाई शंकरले आफ्नो फिल्मको हिरो मध्येको एक आफ्नो छोरा पनि भएको बताएका छन् ।
तितो सत्यमा बालकलाकारको रूपमा अभिनय गरिरहेका राजलाई नायकको रूपमा डेब्यू गराउन छोटो भएन र ? निर्देशक शंकर भन्छन्- 'फिल्मको कथाबस्तु अनुसार मैले उसलाई डेब्यू गराउने मौका यहि हो भनेर फिल्ममा ल्याएको हुँ ।' यता राजले पनि फिल्म क्षेत्रलाई नै आफूले कर्म क्षेत्र बनाएको भन्दै बुवाले फिल्मको लागि अफर गरेकाले सहि समयमा सहि फिल्म पाउँदा अभिनय गर्न राजी भएको बताए ।
यस्तै राजले हिरो बन्न उमेरले छेकबार नलगाउने बताए । 'क्यारेक्टरले हिरो बनाउने हो । यो फिल्ममा पनि मेरो क्यारेक्टरले मलाई हिरोको रूपमा चिनाउने छ भन्ने बिश्वास छ,' राजले भने । यता निर्देशक आचार्यले राजले निकै राम्रो काम गरेको बताए । राज मात्र हैन फिल्मका हरेक पात्रले उत्कृष्ट गरेको बताए ।
फिल्म 'लभ फरेभर'मा नायिका सुमिना घिमिरे निम्फो अर्थात हाई सेक्सुअल डिजाएर भएकी युवतीको भुमिकामा प्रस्तुत भएकी छिन् । फिल्ममा सुमिनाले यौन प्यास मेट्न मरिमेट्न के कस्तो गर्छिन् भन्ने बिषयलाई केन्द्रबिन्दु बनाईएको निर्देशकले बताए । त्रिकोणात्मक फिल्ममा सुमिनालाई नायक गजित बिष्ट र निरज बरालले साथ दिएका छन् ।
फिल्ममा चेतन सापकोटाको संगीत, निरज कँडेलको छायाँकन, गम्भीर विष्टको नृत्य निर्देशन, सूर्य थोकरको द्वन्द्व, नविन निरौलाको सम्पादन रहेको छ ।

