नेपाल र भारतको सिमानाबाट हुने चेलीबेटी बेचबिखनको बिषयलाई मुख्य कथाबस्तु बनाईएको फिल्म 'ढुवानी' आउँदो भाद्र महिनाको २८ गते रिलिज गर्ने कविता फिल्मले जानकारी दिएको छ ।
'वरदानको समयमा धेरै अगाडी रिलिज डेट घोषणा गरेर पनि तोकिएको मितिमा फिल्म लगाउन पाईन । अहिले त सम्पूर्ण मिडियालाई साक्षी राखेर रिलिज डेट तय गरेकी छु । आशा छ ढुवानी तोकिएकै मितिमा सजिलै लाग्नेछ,' निर्माता कविता श्रेष्ठले बताईन् । आफूले चाहेको बेला फिल्म लगाउन नपाउँदा वरदानबाट घाटा बेहोर्नु परेको कविताको भनाई छ । 'यो फिल्मबाट प्लान र वरदानबाट खाएको घाटा रिकभर हुन्छ भन्ने आश छ । सम्पूर्ण मिडियाबाट साथ र सहयोगको अपेक्षा पनि गरेकी छु,' कविताले भनिन् ।
चेलीबेटी बेचबिखन बिरूद्ध जनचेतना जगाउन निर्माण गरिएको फिल्म 'ढुवानी'लाई पिताम्बर पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा किशोर खतिवडा, प्रबिन खतिवडा, धिरेन्द्र राज थापा, सगुन शाही, अनुजा गायक लगायतले अभिनय गरेका छन् । निर्देशक पाण्डेकै लेखन रहेको यो फिल्ममा हरि लम्सालको संगीत तथा पुरूषोत्तम प्रधानको छायाँकन रहेको छ ।

