माओवादी द्धन्दकालमा एक परिवारले भोग्नु परेको पिडामा आधारित रहेर वैचारिक मतभेदका आधारमा विछोडिन पुगेका दुई दाजुबहिनीको प्रेम सम्बन्धको वरिपरि घुमेको फिल्म 'उमा'लाई बुधबार साँझ केहि सिमित सञ्चारकर्मी तथा निर्माण टिमलाई देखाईयो ।
पारिवारिक शोको रूपमा बोलाईेका सञ्चारकर्मीले फिल्म हेरेपश्चात राम्रो बनेको प्रतिक्रिया दिए । फिल्मको कथाबस्तु, प्रस्तुती, कलाकारको अभिनय सबै पक्ष सबल रहेको सञ्चारकर्मीहरूको भनाई थियो । यहि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो फिल्मलाई छिरिङ रितार शेर्पाले निर्देशन गरेका हुन् ।
प्रतिक्षित फिल्मको लिस्टमा रहेको यो फिल्ममा नेपालका विगत र वर्तमान राजनीतिक घटनाक्रम तथा परिवर्तनले नेपालीको जनजीवनमा पारेको प्रभावलाई उतार्ने प्रयास गरिएको निर्देशक शेर्पा बताउँछन् । छिरिङले अभिनेत्री ऋचा शर्मालाई लिड रोलमा उभ्याएका छन् ।
फिल्ममा सौगात मल्ल, मिथिला शर्मा, प्रबिण खतिवडा, प्रकाश घिमिरे, अशोक शर्मा, दयाहाङ राई, प्रमोद अग्रहरी, पुष्कर गुरूङ, शान्ति गिरी लगायतको अभिनय हेर्न सकिनेछ । फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् । मिला प्रोडक्सनले तयार पारेको यो फिल्ममा गोपाल योञ्जन र अभय एन्ड स्टिम ईन्जन्सको संगीत रहेको छ ।

