गर्मीले तातिएको महोत्तरीको वर्दिवास अहिले फिल्ममय भएको छ । मंगलवार देखि फिल्म राहदानीको छायाकंन शुरु भएपछि वर्दिवास फिल्ममय भएको हो ।
नेपालीहरु बिदेसिनु परेको समस्या समेटिएको राहदानीलाई आफ्नो ससुराली नगर वर्दिवासमा संचारकर्मी डब्बु क्षेत्रीले निर्देशन गरिरहेका छन् । फिल्मका स्क्रिप्ट राइटर समेत रहेका क्षेत्रीले राहदानी मार्फत निर्देशनमा डेव्यु गरेका हुन् । फिल्मको ४५ प्रतिशत दृश्य वर्दिवासमा छायाकंन गरिने निर्देशक क्षेत्रीले बताए । वाँकी दृश्य काठमाण्डौ र मलेशियामा छायाकंन गरिने उनको भनाई छ ।
फिल्मको छायाकंन वर्दिवासवाट शुरु गर्नुको कारण वारे स्थानीय संचारकर्मीले राखेको जिज्ञासामा निर्देशक क्षेत्रीले कथाले चुरे र तराईको विचमा अवस्थित शहरोन्मुख ठाउँ मागेकाले वर्दिवास रोजेको बताए । लक्ष्मी प्रसाद ढकालको प्रस्तुती राहदानीमा अशोक रिजाल, नविन लम्साल, विनिता घिमिरे, रुपा खनाल, विद्या कार्की, लक्ष्मण विक्रम वस्नेत, सिर्जना सुव्वा, आयुष्मा श्रेष्ठ लगायतको मुख्य भुमिका रहने छ ।
राहदानीमा अभिनेता दयाह्याङ राई विशेष भुमिकामा देखिने निर्माण युनिटले जनाएको छ । एक आइटम सहित तीन वटा गीत रहेको राहदानीमा केहि द्धन्दका दृश्य समेत रहेको निर्माण युनिटको भनाई छ ।

