फिल्म राहदानीको निर्माण सुरु भएको छ । यो फिल्मको आईतबार बिहान काठमाडौंको कमलादी स्थित गणेश मन्दिरमा शुभ साईत गरेर निर्माण सुरु गरिएको छ ।
सिनेमनबल इन्टरप्राईजजको दोस्रो प्रस्तुति फिल्म राहदानीका प्रस्तुतकर्ता लक्ष्मी प्रसाद ढकाल हुन् । पछिल्लो समय नेपाली फिल्ममा नयाँ पुस्ताको बाहुल्यता बढेकाले यस पटक आफुले नयाँ पुस्तासँग काम गर्न लागेको मुहुर्त समारोहमा प्रस्तुतकर्ता ढकालले बताए । फिल्मको निर्देशन सञ्चारकर्मी डब्बु क्षेत्रीले गर्दैछन् । नेपालीहरु बिदेसिनु परेको समस्यालाई समेटेर यो फिल्मको कथा तयार गरेको निर्देशक क्षेत्रीले मुहुर्त समारोहमा जानकारी गराए ।
फिल्मको कथा ससक्त भएकाले राहदानी राम्रो फिल्म बन्ने धारणा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले मुहुर्त समारोहमा व्यक्त गरे । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले भने- ‘सञ्चारकर्मी क्षेत्री बिगत दुई दशक देखि फिल्म पत्रकारितामा सक्रिय भएको र फिल्म निर्देशनमा समेत ग्राजुएसन गरेकाले उनले पक्कै राम्रो फिल्म बनाउने छन् ।’

पूर्व गृह सचिब डा. गोबिन्द कुसुमले बैदेशिक रोजगारको कमाईले मुलुक चलेको बेला बैदेशिक रोजगारको समस्यामा फिल्म बनाउनु सराहनीय कार्य रहेको बताए । ७ जेठबाट महोत्तरीको बर्दीबासबाट छायाँकन सुरु हुने यो फिल्ममा चेतन सापकोटा, बसन्त सापकोटा, जुगल डँगोलको सँगीत, राजु शाहको नृत्य निर्देशन, रामशरण उप्रेतीको छायाँकन रहने छ ।

फिल्ममा अशोक रिजाल, दयाहाङ राई, रुपा खनाल ‘विशाखा’ बिनिता घिमिरे, मोनिका दाहाल, विधा कार्की, दिनेश दुलाल, केशब घिमिरे, लक्ष्मण बिक्रम बस्नेत, अस्मिता बस्नेतको अभिनय रहने छ । यस्तै राहदानीबाट नविन लम्साल, फुपु तेन्जिङ शेर्पा, बिकाश जोशी, आयुस्मा श्रेष्ठले नवोदित नायक नायिकाको रुपमा अभिनय सुरु गर्दैछन् ।

