Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लेखन हुँदै निर्देशनतर्फ जाँदै बस्न्यात

रेम बिक, पोखरा, 2013/05/18

फिल्म लेखनमा सफल दरिएका सुभास सिंह बस्न्यात फिल्म निर्देशक बन्ने सुरमा छन् । आफ्नै लेखन अनि निर्देशनमा बनेको नेपाली सेनासम्बन्धि सर्ट फिल्म उत्कृष्ट हुँदै पुरस्कार प्राप्त गरेपछि उनले यस्तो सुर कसेका हुन् । नेपाली सेनाले वर्षेनी गर्दै आएको ‘लघु चलचित्र प्रतियोगिता’ अर्न्तगत यसपाली उनले लेखन तथा निर्देशन गरेको सर्ट फिल्म ‘दुई किलो दुई ईन्च’ले २० वटा प्रतिस्पर्धीलाई पछाडी पार्दै उत्कृष्टको पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट भएको फिल्मबाट उनले १ लाख पचास हजार सहित प्रमाणपत्र समेत प्राप्त गरेका छन् । प्रधानसेनापति गौरबशमशेर राणाले उनलाई पुरस्कार प्रदान गरेका थिए । ‘फिल्म निर्देशनमा आउने मेरो सोँच पहिले देखिको नै हो,’ पुरस्कार प्राप्त गरिसकेपछि हर्षित मुद्रामा बस्न्यातले भने–‘अब चाँडै नै फिचर फिल्म नै निर्देशन गर्ने तयारीमा जुटेका छु ।’ करिअरकै महत्वकांक्षी फिल्म निर्देशन गर्न लागेको बताउने बस्न्यातले अहिलेसम्म फिल्मको शिर्षक भने जुराईसकेका छैनन् । ‘फिल्म भने नेपाली सेनाकै विषयमा हुनेछ.’ उनले सामान्य कथा खुलाए ।

राष्ट्र, राष्ट्रियता र युवा सोँच नै आफ्नो फिल्मको मुख्य थिम भएको उनले जानकारी दिए । फिल्मको लागी कलाकार सेलेक्सन केहि दिनमै थाल्ने उनले बताए । लेखनमा सफल बस्न्यातले लेखेका फिल्महरुमा सर्वाधिक सफल अन्दाज, मेरो एउटा साथी छ, गुरुदक्षिणा, हमेशा लगाएतका फिल्महरु छन् । पछिल्लो समय उनकै लेखन रहेको ‘नेपथ्य’ नामक फिल्म प्रर्दशनमा आउने क्रममा छ । जेठ २४ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मलाई रामराजा दाहालले निर्देशन गरेका हुन् । ‘लेखनको हिसाबले मैले लेखेका अन्य फिल्म भन्दा यो अझै उत्कृष्ट छ,’ नेपथ्यको विषयमा बोल्दै बस्न्यातले भने–‘मैले यो फिल्मबाट निकै आशा गरेको छु ।’

फिल्म लेखनबाट निर्देशनमा आउनु खासै नौलो कुरा होईन । यसअघि पनि धेरै फिल्म लेखकहरुले फिल्म निर्देशनमा पाईला चलाईसकेका छन् । फिल्म लेखनबाटै निर्देशनमा छिरेका सुरज सुब्बा 'नाल्बो', विकास आचार्य लगाएतका निर्देशकहरु अहिले सफल निर्देशकमा समेत दरिएका छन् । बस्न्यातले फिल्म लेखनमा जति सफलता पाएका छन् त्यस्तै सफलता निर्देशनमा पनि पाउन् । शुभकामना !