विगत ४ बर्ष देखि अनलाईनको माध्यमबाट नेपाली फिल्म क्षेत्रको विकास तथा उत्थानमा सहयोग पुर्याउँदै आएको नेपालको नम्बर वान फिल्मी अनलाइन पोर्टल 'फिल्मीखबर डट कम'ले यसैबर्ष देखि फिल्म अवार्ड गर्ने घोषणा गरेको छ ।
अवार्डको पहिलो संस्करण स्वरूप फिल्मीखबर डट कमले यहि जेठ २६ गतेका दिन राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सभ्य र भव्य रूपले 'अनलाईन फिल्मीखबर अवार्ड (ओफा) २०७०' गर्ने तयारी गरेको छ । ०६९ सालमा प्रदर्शनमा आएका फिल्महरूलाई अवार्डमा समावेश गरिनेछ । विभिन्न आकर्षक साँस्कृतिक कार्यक्रम सहित हुन लागेको सो अवार्ड समारोहमा १४ बिधामा अवार्ड वितरण गरिने भएको छ ।
अवार्ड समारोहमा लामो समयदेखि कलाकारिताको क्षेत्रमा अतुलनिय योगदान पुर्याएका एक जना फिल्मकर्मीलाई 'अनलाईन फिल्मीखबर लाईफ टाईम अचिभमेन्ट अवार्ड'द्धारा सम्मानित गरिनेछ । दिउँसो साढे दुई बजेबाट एनटिभी प्लसले प्रत्यक्ष प्रसारण गर्ने सो कार्यक्रमलाई काठमाण्डौको रेडियो अडियो, पोखराको बिग एफएम, चितवनको कालिका एफएम र दमकको पाथिभारा एफएमले पनि प्रत्यक्ष प्रसारण गर्ने अवार्ड कार्यक्रमका संयोजक सुरेश दर्पण पोखरेलले जानकारी गराए ।
अवार्ड समारोहमा फिल्म क्षेत्रका बिशिष्ट व्यक्तिहरूको सहभागीता रहने आयोजक संस्थाका अध्यक्ष सुमन गैरेले जानकारी गराएका छन् । कार्यक्रमलाई भव्य रूपमा सफल पार्न फिल्मीखबर डट कमले सम्पूर्ण फिल्मकर्मी, सञ्चारकर्मी, विज्ञापनदाता तथा शुभेच्छुकहरूबाट साथ, सहयोग र समर्थनको अपेक्षा गरेको छ ।
'अनलाईन फिल्मीखबर अवार्डमा २०७०' मा निम्न बिधामा अवार्ड वितरण गरिनेछ -
- सर्वोत्कृष्ट फिल्म
- सर्वोत्कृष्ट निर्देशक
- सर्वोत्कृष्ट अभिनेता
- सर्वोत्कृष्ट अभिनेत्री
- सर्वोत्कृष्ट डेब्यू निर्देशक
- सर्वोत्कृष्ट डेब्यू अभिनेता
- सर्वोत्कृष्ट डेब्यू अभिनेत्री
- सर्वोत्कृष्ट कथा
- सर्वोत्कृष्ट संगीतकार
- सर्वोत्कृष्ट छायाँकार
- सर्वोत्कृष्ट सम्पादक
- सर्वोत्कृष्ट द्धन्दनिर्देशक
- सर्वोत्कृष्ट नृत्यनिर्देशक
- सर्वोत्कृष्ट फिल्म प्रदर्शक


