Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पर्दामा `१२ नेपाली एक चिहान`

फिल्मीखबर, काठमाण्डौ, 2013/05/17

रोजगारीका लागि इराक पुगेका १२ नेपालीको बर्बरतापूर्वक हत्या भएको ९ बर्ष पश्चात सोही घटनामा आधारित रहेर '१२ नेपाली एक चिहान' निर्माण हुने भएको छ । २०६१ साल भदौ १६ गतेका दिन आतंकवादीले घाँटी रेटेर मारेका १२ नेपालीको दर्दनाक कथालाई अरूण प्रधानले पर्दामा उतार्न लागेका हुन् ।

 

जय हुनुमान क्रियशनको व्यानरमा निर्माण हुन लागेको यो फिल्मको शुक्रबार बिहान काठमान्डौको भद्रकाली मन्दिरमा मुहुर्त गरियो । मुहुर्त कार्यक्रममा बोल्दै निर्देशक प्रधानले झण्डै ४ बर्ष रिसर्च गरेर फिल्म निर्माणमा हात हालेको बताए । 'मारिएका १२ जना नै नेपालीको घरमा पुगेर रिसर्च गरि कथा तयार पारेको हुँ,' प्रधानले भने, 'यसमा कति नदेखिएका घटनाहरूलाई पनि समेटिएको छ ।'

 

भोली शनिबार घनकुटाबाट सुटिङ शुरू हुने यो फिल्ममा राजन खतिवडा, जतिन ताम्राकार, रबिन्द्र झा, बिक्रम सिंह, उत्तम जंग लिम्बु, राम भजन कामत, सुशिल थापा मगर, घनश्याम मिश्र, निराजन मेहता, सोनु जयन्ती, प्रजा प्रधान, मिलन श्रेष्ठ लगायतको अभिनय रहनेछ । थिएटरका कलाकारको बाहुल्यता रहने यो फिल्मलाई शेरबहादुर लामाले खिच्नेछन् । निर्देशक प्रधानकै कथा रहेको यो फिल्मका निर्माता रबिन श्रेष्ठ, संगीता प्रधान, रबिन राई र भईसन बर्देवा हुन् ।

 

मुहुर्त कार्यक्रममा निर्माता संघका अध्यक्ष राजकुमार राई, कलाकार संघका अध्यक्ष नवल खड्का, प्राबिधिक संघका अध्यक्ष मनोज केसी तथा चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदीले यस्तो दर्दनाक कथामा फिल्म बनाउने साहस बोकेको टिमलाई सफलताको शुभकामना दिएका थिए ।

 

आतंकवादी समूहले खोटाङ काहुलेका ज्ञानेन्द्र श्रेष्ठ, गोरखा बक्राङका जितबहादुर थापा, धनकुटा हात्तिखर्कका मंगलबहादुर लिम्बु, रोल्पा कुरेलीका छोकबहादुर थापा, ललितपुर लेलेका रमेश खड्का, धनुषा हकलाजिनका मनोजकुमार ठाकुर, महेन्द्रनगर सखुवाका बुधनकुमार साह, धनुषा मानसिंहपट्टीका सञ्जयकुमार ठाकुर, झापा तोपगाछीका प्रकाश अधिकारी, खोटाङ चिसापानीका राजेन्द्रकुमार श्रेष्ठ, धनुषा हरिहरिपुरका ललन सिंह कोइरी र लमजुङ भोटेओढारका विष्णुहरि थापाको हत्या गरेको थियो ।