०६९ सालको अन्त्यमा रिलिज भएको चर्चित फिल्म 'नोटबुक'लाई अमेरिकामा रिलिज गर्न १० लाख रूपैंयामा बेचिएको छ । निर्देशक योगेश घिमिरेले ४ लाख एड्भान्स लिएर अमर राईलाई फिल्मको रिलिज राईट दिएको बताए ।
केहि समय अगाडी मात्र युकेमा प्रति शो २ लाख रूपैंयामा रिलिज राईट दिएको प्रज्ञा फिल्म्सले अष्ट्रेलियामा पनि रिलिजका लागि राईट दिएको बताएको छ । अष्ट्रेलिया राईटको मूल्य भने निर्माण टिमले खुलाएको छैन । फिल्मका नायक जीवन लुईटेलको पहलमा अष्ट्रेलियाको एञ्जल मुभिजलाई फिल्मको रिलिज राईट दिईएको छ । एञ्जल मुभिजले छिट्टै नै फिल्म रिलिज गर्ने बताएको छ ।
'फिल्मको डिमाण्ड आउँदैछ,' निर्माता प्रज्ञा जोशीले भनिन्- 'नेपालबाट रिकभर हुन नसकेको लगानी बिदेशी बजारबाट उठ्नेमा ढुक्क छु ।' लगानी धेरै भएका कारण नेपालबाट लगानी सुरक्षित हुन नसकेको प्रज्ञाको भनाई छ । निर्देशक घिमिरेले खाडी मुलुकमा पनि रिलिजका लागि कुरा भईरहेको बताए । 'राम्रो फिल्म बनाएका छौं त्यसैले बिस्तारै बिदेशमा रिलिज गर्दै जानेछौं,' योगेशले भने ।
गाला रातै बोलको गीतले पनि चर्चामा ल्याएको यो फिल्ममा जीवनको साथमा नीता ढुंगाना, शेन सापकोटाको मुख्य भुमिका रहेको छ । फिल्ममा बसन्त सापकोटाको संगीत तथा संजय लामाको छायाँकन रहेको छ ।

